साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

फाईल तस्विर ॥

काठमाण्डौं,कार्तिक,११-नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ।

निकै विवाद र मनोरञ्जनात्मक रुपमा सकिएको खेलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । अन्त्यतिर भारतले पेनाल्टी क्षेत्र भित्रबाट लगातार आक्रमण गरेपनि डिफेन्सले खतरा टार्यो ।

दोस्रो हाफ निकै तनावपूर्ण रह्यो । सुरुवातमा रेखा पौडेलले रातो कार्ड खाएपछि मैदानमा दर्शकले बोतल फाल्दा खेल झन्डै १३ मिनेट रोकियो । खेल सुरु भएको केही बेरमा भारतले संगीता बास्फोरको उत्कृष्ट गोलमा अग्रता लियो ।

नेपालले लगत्तै भारतले गोलको खुसी मनाइरहेको अवस्थामा किकअफमा गोल गर्यो तर रेफ्रीले आफैं व्हिसल बजाएर खेल सुरुवात गरेपनि पछि गोललाई मान्यता दिइनन् । नेपालले पुन: खेल सुरु गरेको केहीबेरमा खेलमा विवाद भयो र झन्डै १ घण्टा खेल रोकियो ।

खेल सुचारु भएको केहीबेरमा नेपालले गोल फर्कायो । साम्बाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल बराबरी हुँदै टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा भारतको पहिलो प्रहारमा कप्तान आशालता देवीले पोस्टमा प्रहार गरिन् । साम्बाले नेपालको पहिलो पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रतामा पुर्याइन् । भारतकी मनिषाले दोस्रो प्रहारमा गोल गरिन् ।

नेपालकी गीता रानाले गोल गर्दै २-१ को अग्रतामा पुर्याइन् । त्यसपछि पुरुषोत्तम शिरोभ्करले गोल गर्दै खेल २-२ मा ल्याइन् । सविताले तेस्रो प्रहारमा गोल गर्दै खेलमा नेपालको अग्रता कायम राखिन् ।

भारतको चौथो प्रहार गरेकी रन्जना चानुको पेनाल्टीलाई अन्जनाले रोकिन् । त्यसपछि अमिषा कार्कीले गोल गर्दै नेपाललाई जित दिलाइन् ।

भारतले किकअफबाट नै सिधै गोलपोस्टमा सट लिँदै आफ्नो आक्रामक रणनीतिको झल्को दिएको थियो । कप्तान एन्जिला तुम्बापो सुब्बाले उक्त प्रहार बचाइन् । त्यसको दुई मिनेटमै एन्जिलले पुन: अर्को बचाउ गर्दै भारतलाई हावी हुन दिइनन् ।

१९ औं मिनेटमा ज्योति चौहानले कर्नरमा गरेको हेडरलाई डिफेन्डर अमृता जैशीले ६ यार्ड बक्स भित्र रोकिन् । उक्त रिबाउन्डमा ज्योतिले बक्स भित्रबाट नै गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

२३ औं मिनेटमा भारतकी मनिषाले बायाँ विंगबाट विमला विकलाई बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको लगातार प्रयासले डिफेन्स लाइन काट्न सकेन ।

३१ औं मिनेटमा नेपालले गोल गर्ने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतीय गोलरक्षक चानुले रोकिन् । रिबाउन्डमा अमिशा कार्कीले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार चानुले पन्च गर्दै मुस्किलले बचाइन् ।

इन्ज्युरी समयको चौथो मिनेटमा भारत गोल गर्ने अवसरमा चुक्यो । मनिषाको फ्रिकिकमा गोलरक्षक एन्जिलाले पहिलो बचाउ गरेपछि ज्योति चौहान र अरुणा बागको लगातार प्रहार विफल भयो ।

त्यसपछि मनिषा आफैंले लगातार गरेको प्रयासमा पनि नेपाली डिफेन्सले बललाई पोस्टमा जान दिएन ।दोस्रो हाफको ५० औं मिनेटमा नेपाल १० खेलाडीमा सिमित भयो । रेखा पौडेलले रन्जना चानुमाथि फल गरेपछि रेफ्री चोकी ओमले दोस्रो पहेंलो कार्ड देखाएकी थिइन् ।

त्यसअघी उनले पहिलो हाफको इन्ज्युरी समयमा मनिषामाथि गरेको फलका कारण पहेंलो कार्ड पाएकी थिइन् ।

रेखाले रातो कार्ड पाएलगत्तै दर्शकहरुले रेफ्रीको निर्णयमा असन्तुष्ट जनाउँदै बोतल फालेका थिए । खेल १३ मिनेट रोकिएपछि सुचारु हुन सकेको थियो।

खेल सुचारु भएको केहीबेर पछि भारतले अग्रता लियो । संगिता बासफोरले उत्कृष्ट गोल गरिन्।उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार भली टप कर्नरमा गोल गरिन् ।

भारतले गोल गरेपछि सबै खेलाडी गोलको खुसी मनाउन थाले ।त्यसक्रममा सबै खेलाडी आफ्नो बेन्चतर्फ गए । भारतको हाफ र बेन्च एकैतर्फ रहेकाले नेपालले गोल खाएपछि फटाफट बल चलाउने सुर गर्यो ।

नेपालले बल चलाउने क्रममा भारतका कुनै खेलाडी विपक्षी हाफमा नरहेका कारण रेफ्री चोकी ओमले सिठी बजाइन् । प्रिती राईले बल अघि बढाउँदै गोल पनि गरिन् । तर रेफ्रीले त्यसपछि फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल दिइनन् ।

कारण नेपालले बल चलाउने बेलामा भारतीय अफिसियल पनि मैदानभित्र थिए । रेफ्रीले नेपालको गोल रद्द गर्दै भारतीय अफिसियललाई पहेंलो कार्ड दिइन् । नेपालले पनि असन्तुष्टि पोख्यो तर केहीबेरमा खेल सुचारु गर्न मान्यो । तर एक मिनेट नबित्दै दर्शकहरुले बोतल प्रहार गर्न थालेपछि खेल रोकियो । नेपालको बेन्चले पनि फोर्थ अफिसियलसँग असन्तुष्टि पोख्यो ।

खेल रोकिएपछि रेफ्री एसेसर भारतकी मारिया रेबेलो र म्याच कमिस्नर भुटानका मिन्दु दोर्जी पनि मैदानछेउ पुगे । दुवैले रेफ्रीसँग छलफल गरे । नेपालले गोल नदिए खेल नमान्ने बतायो । यता भारतले भने नेपालले बल चलाइसकेका कारण गोल रद्द नै हुनुपर्ने बतायो ।

लामो विश्रामपछि खेल सुरु भयो । खेल सुरु भएको केही मिनेटमै नेपालले गोल फर्कायो । प्रितीले मिडफिल्डबाट दिएको पासलाई साम्बाले गोलरक्षक र डिफेन्डरको बीचबाट गोल गरिन् ।

त्यसपछि थप गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

त्यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । 

हाम्रो खेलकुदडटकमबाट साभार