यू -१९ महिला विश्वकपमा खेलमा नेपाल छनोट

फाईल तस्विर ॥

टोकियो,कार्तिक,२८-नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यु-१९ टी-२० महिला विश्वकपमा छनोट भएको छ।

आज बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक ३५ रन बनाइन्।

त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन्।साबित्री धामीले १२ रन बनाइन्।टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो।

यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन्।यसगरी रिनिथा रञ्जितले २० रन बनाइन् भने ‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए।

नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन्।उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन्।

नेपालका रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिएकि थिईन्।