समाचारप्रति उपमहानगरपालिकाको ध्यानाकषर्ण

ठेक्का प्रक्रिया विधिवत छ : उपमहानगरपालिका

नेपालगञ्ज,चैत्र,२३-

टेण्डर नखोलेरै ठेक्का दिइएको भन्ने आशयका सार्वजनिक समाचारप्रति नेपालगञ्ज उपमहानगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै ठेक्का प्रक्रिया विधिवत रुपमा भएको आधार प्रस्तुत गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ मा ग्राभेल गर्ने कामका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले टेण्डर नै नखोलेर मिलेमतो गरेको भन्ने केहि सञ्चार माध्यममा प्रकाशीत तथा प्रशारित समाचारमा सत्यता नभएको भन्दै वास्तविकता सार्वजनिक गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका मूल्यांकन समितिका संयोजक एवं इन्जिनियर गोविन्द महत्राले आज वास्तविकता शिर्षकको एक पे्रस नोट जारी गर्दै ठेक्कासँग सम्वन्धित सम्पूर्ण प्रकृयाहरु विधिवत र पारदर्शी रहेको, कसैप्रति दुरासयी नराखिएको, कसैलाई बञ्चित गर्न नखोजिएको, खरीद सम्वन्धि ऐन र नियमावलीको पुरापुर पालना भएको उल्लेख गरिएको छ ।

उपमहानगरपालिकाले ०७४ पौष २१ गते सूचना प्रकाशन गरी ठेक्काको लागि आव्हान गरिएकोमा ३ वटा अनिवार्य दरभाउपत्र हुनुपर्नेमा ईशा कन्सट्रक्सनले पेश गरेको ठेक्कामा सो नियमावली बमोजिम ३ थान दरभाउपत्र पेश हुन नआएकोले पुनः सूचना प्रकाशन गरि विधिवतरुपमा ठेक्का प्रकृया अगाडी बढाईएकोमा सो

कन्सट्रक्सनले आफुले ठेक्का नपाएको आवेशमा निराधार, व्यक्तिको चरित्र र सिंगो स्थानीय सरकारलाई बदनाम हुनेगरी समाचार सार्वजनीक गरेकोमा आश्चर्यचकित भएको उल्लेख गर्दै समाचारमा भनिएजस्तो कुनै मिलेमतो(सेटिङ्ग) नभएको र सो समाचारमा कुनै सत्यता नभएको उपमहानगरपालिकाद्धारा दावी गरिएको छ ।

शिलबन्दी दरभाउपत्रको हकमा सार्वजनिक खरीद नियमावली २०६४ को नियम ८४ को उपनियम ३ (क) र (ख) मा यस सम्वन्धमा प्रष्ट व्यवस्था छ । शिलबन्दी दरभाउपत्रमा पहिलो सूचना बमोजिम ३ भन्दा कम दरभाउपत्र पेश हुन आएमा कुनै कुरा उल्लेख नगरी दोस्रो सूचनामा जाने व्यवस्था भएकाले ईशा कन्सट्रक्सनको हकमा पनि ३ भन्दा कम दरभाउपत्र पर्न आएकाले पुनः सूचना जारी गरिएको र दोस्रोपटकको सूचनामा सो कन्सट्रक्सनले पुनः शिलवन्दी दरभाउपत्र पेश नगरेको हुँदा सो कम्पनीको दरभाउपत्र मूल्यांकनमा समावेश नै नभएको उपमहानगरपालिकाको पे्रस नोटमा जानकारी गराइएको छ ।

दोस्रोपटकको सूचनामा ठेक्का न.१५ को हकमा सौरभ तथा गौरभ कन्सट्रक्सनले १७ प्रतिशत घटिमा ठेक्का कवोल गरेको र ठेक्का न.१७ मा दुर्गा निर्माण सेवाले पनि १७ प्रतिशत घटिमा ठेक्का कवोल गरेको हुँदा मिलेमतो गरेको भनेर भनिएको भनाईमा कुनै बस्तुनिष्ठ आधार नभएको र सार्वजनिक खरीद ऐन र नियमावलीको गलत व्याख्या उपमहानगरपालिकाबाट कहीं कतै नगरिएको पनि प्रष्ट पारिएको छ ।

साथै समाचारमा उल्लेख गरिए जस्तो उक्त ठेक्काहरु शिलबन्दी बोलपत्र नभइ शिलबन्दी दरभाउपत्र भएको समेत जनाइएको छ । ईशा कन्सट्रक्सनलाई ठेक्का हाल्नबाट बञ्चित गरियो भन्ने आरोप पनि कपोलकल्पित र भ्रम मात्र हो जवकी २०७४ साल चैत्र २१ गते मात्र ठेक्काका विषयमा छलफल भएको र त्यसभन्दा अगाडी सो बारे कन्सट्रक्सनका कुनैपनि व्यक्ति सँग कुनै खालको छलफल, परामर्श नै नभएको इन्जिनीयर महत्राको नोटमा उल्लेख छ ।

यसकारण धरौटी फिर्ता, सताउने, फाईल लुकाउने र भौचर हरायो भन्ने घृणित आरोपमा कुनै संलग्नता नरहेको र सो आरोप निराधार रहेको पनि जारी नोटमा प्रष्ट पारिएको छ ।