ओलीलाई कारवाही गर्न नेकपा केन्द्रीय कमिटी बैठक भोलि बस्ने

फाईल तस्विर !!

काठमाडौं,पुस,६-प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक भोली मंगलबार बस्दै छ ।

प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट संविधानको प्रावधानविपरीत संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा भएपछि नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्न लागेको हो ।

यसअघि हिजो प्रधानमन्त्री निवास बालुवााटरमै बसेको स्थायी कमिटीको बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभाको विघटन तथा पार्टीको आगामी कदमबारे निर्णय गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस जनादेश र जनभावना विपरीत रहेको ठहर गर्दै सोको विरोध गर्ने निर्णय गरेको थियो ।

बैठकले पार्टी अन्तरिम विधानको दफा ५६ अनुसार प्रधानमन्त्री ओलीमाथि अनुशासनको कारवाहीका लागि केन्द्रीय कमिटीसमक्ष प्रस्ताव लैजाने निर्णय पनि गरेको थियो ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यमध्ये आमन्त्रित दुईसहित ३१ जनाको सहभागिता थियो ।