हुम्ला,माघ,५-सत्तारुढ नेकपाका स्थानीय कार्यकर्ता एक अर्को पक्षमाथि जाइलाग्न थालेका छन् ।
केन्द्रमा शीर्ष नेताबीच वाकयुद्ध चलिरहेका बेला विभिन्न जिल्लामा बाझाबाझ हुनु त सामान्य नै हो तर हुम्लामा भने कार्यकर्ताबीच कुटाकुट भएको छ।हुम्लामा नेकपा ओलीपक्ष र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो।
झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते हुनुभएको छ।वडा नम्बर १ को कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएको गाउँपालिका अध्यक्ष दल फडेराले बताउनुभयो ।
थापाको टाउको तथा मुखमा चोट लागेको छ। स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइएको छ। वडा अध्यक्ष थापा पूर्व माओवादीबाट निर्वाचित हुनुभएको थियो।तर अहिले ओली समूहमा लागेपछि प्रचण्ड पक्षधर थापासँग रुष्ट छन् ।