निर्वाचन तयारीका विषयमा राजनीतिक दलहरुसँग आयोगद्वारा छलफल

काठमाडौं,माघ,४-प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधी निर्वाचनमा जाने सरकारको घोषणा पछि निर्वाचन आयोगले पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ ।

आयोगको कार्यालय कान्तिपथमा भएको छलफलमा आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्र लगायतका विषयमा छलफल भएको हो ।

छलफलमा नेकपा दाहाल–नेपाल समूहको तर्फबाट सहभागि नेता राजेन्द्रप्रसाद पाण्डेले तोकिएको समयमा निर्वाचन असम्भव रहेको भन्दै यहि अवस्थामा आयोगले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन नसक्ने बताउनुभयो ।

यसअघि नै नेकपाको दाहाल–नेपाल समूहले संसद विघटन सम्बन्धि मुद्धा अदालतमा विचाराधिन रहेकाले आगामी निर्वाचन केन्द्रीत कार्यतालिका स्थगित गर्न आग्रह गरिसकेको छ ।

सर्वदलीय छलफलमा नेपाली कांग्रेसको तर्फबाट सहभागि नेता आनन्दप्रसाद ढुंगानाले निर्वाचनको लागि आयोगले तयारी थाल्नु स्वभाविक भएको भन्दै स्वच्छ, निष्पक्ष र धाँदलीरहित निर्वाचन सम्पन्न गर्ने गरी तयारी हुनुपर्ने धारणा राख्नुभयो ।

छलफलमा सहभागि राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन आयोगका पदाधिकारीहरुले निर्वाचनको तयारी बारे जानकारी गराउँदै आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।

आयोगले छलफलका लागि संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट निर्वाचन हेर्ने २–२ जना प्रतिनिधिलाई बोलाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावती निर्वाचन घोषणा गर्नुभएको थियो ।