बाँकेमा ४७ सहित थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं,जेठ,५-नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो ।

सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ पुरुष, एक महिलामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । योसँगै बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

त्यसैगरी विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना, धुलिखेलमा गरिएको परीक्षणमा रौतहट, धनुषा, दाङ र धादिङका एक–एक जना तथा भैरहवामा गरिएको परीक्षणमा गुल्मीका एक जना व्यक्तिमा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

यसअघि सोमबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै एकैदिनमा कोरोना संक्रमितको संख्या ६२ रहेको छ । संक्रमित सबैको उमेर १८ वर्षदेखि ४६ उमेर समूह रहेको मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट ६९ हजार ५ सय ६० नमूना परीक्षण भएको छ । पीसीआर विधिबाट भने हालसम्म ३० हजार ७ सय २३ परीक्षण भएको छ ।