काठमाडौं,मंसिर,५- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ।शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई शानदार १० विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेटको क्षतिमा पूरा गर्यो।
सुदूरपश्चिमका लागि जर्ज मुन्सेले सर्वाधिक १२५ रन बनाए । उनले ५४ बलमा १२ छक्का र ८ चौका प्रहार गरे।उनी अविजित रहे।
त्यस्तै, बिनोद भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रन बनाए।मुन्से र भण्डारीले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका हुन्।
पहिलो खेलमै लुम्बिनी लायन्ससँग पराजित हुँदै तेस्रो संस्करणको यात्रा सुरु गरेको सुदूरपश्चिमले अन्ततः फाइनलमा त्यही लुम्बिनीलाई हराएर उपाधि जित्यो । यससँगै लगातार तीन पटक फाइनल पुग्ने सुदूरपश्चिम पहिलो टोली बनेको छ भने तेस्रो प्रयासमा च्याम्पियन बन्ने आफ्नो सपना पनि पूरा गरेको छ।
एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्स र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए । तेस्रो संस्करणमा भने सुदूरपश्चिमले च्याम्पियनको सूचीमा आफ्नो नाम लेखाएको छ।
सुदूरपश्चिमले पहिलो संस्करणदेखि नै आफूलाई एनपीएलको बलियो टोलीका रूपमा स्थापित गरेको थियो । पहिलो संस्करणमा लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।तर उपाधि भिडन्तमा जनकपुरसँग पराजित भएपछि टोली उपविजेतामा सीमित भयो।
मन्से एनपीएलको फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने।यो तेस्रो संस्करणको तेस्रो तथा समग्र एनपीएल इतिहासको छैटौं शतक हो ।
यसअघि पोखरा एभेन्जर्सका युवराज सम्रा र चितवन राइनोजका कमिल मिशाराले यस सिजन शतक बनाएका थिए।तर उपाधि भिडन्तमा मन्सेले बनाएको शतक एनपीएल इतिहासकै यादगार व्यक्तिगत प्रदर्शनमध्ये एक बन्यो।
लगातार दुई पटक उपाधि जित्न नसकेको पीडा, तेस्रो पटक फाइनलमा पुग्दाको दबाब र लुम्बिनीसँगको लगातार तीन हारको इतिहासलाई सुदूरपश्चिमले एकै खेलमा मेटाएको छ ।




