
काठमाण्डौं,असोज,९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ।
तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति बढ्न सक्ने चिन्ता पनि बढेको छ।यसको असर विभिन्न देशका सेयर बजारमा समेत परेको छ।इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा सातदिने युद्धविरामको प्रस्ताव अघि सारेको थियो।
उक्त प्रस्ताव कार्यान्वयन भए होर्मुज जलडमरूमध्य पुनः खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको समस्या केही सहज हुने अपेक्षा गरिएको थियो।विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गका रूपमा रहेको होर्मुज जलडमरूमध्य अहिले अमेरिका र इरानबीचको तनावको महत्वपूर्ण विषय बनेको छ।
तर, ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ।यद्यपि, उहाँले अमेरिका र इरानबीच वार्ता पुनः सुरु हुन सक्ने संकेत दिनुभयो।अमेरिकी सञ्चारमाध्यमका अनुसार दुवै देशबीच अप्रत्यक्ष वार्ता सोमबारदेखि नै हुन सक्ने सम्भावना रहेको छ।
होर्मुज जलडमरूमध्य पुनः खोल्न इरानले केही सर्तहरू अघि सारेको छ।रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने, इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने उसका प्रमुख माग रहेका छन्।युद्धविरामको प्रस्ताव सार्वजनिक भएपछि शुक्रबार दुई प्रतिशतभन्दा बढी घटेको कच्चा तेलको मूल्य सोमबार पुनः बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा उत्तर समुद्री कच्चा तेलको मूल्य १.८ प्रतिशत बढेर प्रतिब्यारेल १०६.१९ अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी पश्चिमी टेक्सास क्षेत्रको कच्चा तेलको मूल्य १ प्रतिशत बढेर प्रतिब्यारेल ९३.३४ डलर पुगेको छ।
तेलको मूल्य बढेसँगै मुद्रास्फीति बढ्ने चिन्ता पनि पुनः बढेको छ।यसको प्रभाव एसियाली सेयर बजारमा देखिएको छ। लामो बिदापछि खुलेको दक्षिण कोरियाली बजार दुई प्रतिशतभन्दा बढी घटेको छ।जापानको टोकियो, चीनको सांघाई, फिलिपिन्सको मनिला, थाइल्यान्डको बैंकक र इन्डोनेसियाको जकार्ताका बजारमा पनि गिरावट आएको छ।
यता हङकङ, अस्ट्रेलियाको सिड्नी, सिंगापुर र न्युजिल्यान्डको वेलिङ्टनका सेयर बजारमा भने वृद्धि देखिएको छ।
यसैबीच, विश्व ऋणपत्र बजारमा पनि प्रतिफल बढेको छ। गत साता विश्व ऋणपत्रको औसत प्रतिफल चार प्रतिशतभन्दा माथि पुगेको थियो।यो सन् २००७ यताकै उच्च स्तर भएको बताइएको छ।
अब लगानीकर्ताको ध्यान अमेरिकी केन्द्रीय बैंकको आगामी मौद्रिक नीति निर्णयतर्फ केन्द्रित भएको छ।अक्टोबरको अन्त्यमा हुने बैठकअघि यसै साता अमेरिकाको मुद्रास्फीतिसम्बन्धी महत्वपूर्ण तथ्यांक तथा रोजगारीसम्बन्धी विवरण सार्वजनिक हुँदैछन्।यी तथ्यांकले आगामी ब्याजदरसम्बन्धी निर्णयमा महत्वपूर्ण प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ ।
विश्लेषकहरूका अनुसार मध्यपूर्वमा तनाव पुनः बढेपछि तेलको मूल्यमा वृद्धि भएको छ र एसियाली सेयर बजारमा दबाब देखिएको छ।यद्यपि, अमेरिका र इरानबीच पुनः वार्ता सुरु हुन सक्ने सम्भावनाले बजारमा केही आशा भने कायम राखेको छ।एजेन्सी





