कञ्चनपुरमा भारतीय एसएसबीको गोलीबाट एक नेपालीको मृत्यु : गोली नहानेको भारतको दाबी

कन्चनपुर, फागुन २६ –

कल्भर्ट निर्माणका विषययमा कन्चनपुरको नेपाल–भारत सीमा क्षेत्र पुनर्वासमा प्रदर्शन गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाउँदा विहीबार एकजनाको मृत्यु भएको छ ।गोली लागेर ज्यान गुमाउनेमा पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतम रहेका छन् ।

कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सीपी अस्पताल र्पुयाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । भारतीयको गोली लागेर अरु चारजना नेपालीहरु घाइतेसमेत भएका छन् ।पुनर्वासको दशगजा क्षेत्रमा कल्भर्ट बनाउने विषयमा विवाद हुँदा भारतको सम्पूर्णनगरका प्रहरी निरीक्षकले नेपालीहरुमाथि गोली प्रहार गरेको जनाइएको छ ।

जंगेपिलरसमेत हराइसकेको सो क्षेत्रमा हालका लागि खोलामाथि कच्ची कल्भर्ट निर्माण गर्ने सहमति केही समयअघि नेपाली र भारतीय अधिकारीहरुबीच भएको थियो ।सोही सहमतिअनुसार पुनर्वास नगरपालिकाले बुधबार (हिजो)देखि कल्भर्ट बनाउन थालेकोमा भारतीय एसएसबीले भत्काएको थियो ।

कल्भर्ट भत्काएको विरोधमा प्रदर्शन गर्न पुगेका नेपालीहरुमाथि भारतीय प्रहरीले गोली हानेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रवक्ता डीएसपी नैनसिंह कार्कीले बताए ।बुधबार राति हतियारसहित नेपाल छिरेका एसएसबीका जवानहरुले स्थानीय नेपालीहरुलाई घर छाडेर जान धम्क्याएको पनि स्थानीयले बताएका छन् ।
यसैविच
कञ्चनपुरको पुनर्वास सीमा क्षेत्रमा स्थानीय बासिन्दा र भारतको सीमा सुरक्षा बल एसएसबीबिच झडप हुँदा एक नेपालीको ज्यान गएको घटनामा भारतले  गोली नचलाएको दाबी गरेको छ । भारतले सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षा बलले कुनै फायरिङ नगरेको दाबी गरेको हो । भारतीय दूतावासले बिहीबार ट्वीटरमार्फत एसएसबीले गोली नचलाएको दाबी गरेको हो ।

सीमा क्षेत्रमा शान्ति कायम गर्नुपर्नेमा जोड दिँदै भारतले कुनै पनि निर्माणको काम गर्नुपूर्व दुवै देशका सर्भे अधिकारीले सीमा क्षेत्रको पिलरबारे छलफल गर्नुपर्नेमा जोड दिएको छ । यस्तै, स्थानीय अधिकारीलाई पनि त्यहाँ उत्पन्न अवस्था समान्य बनाउन सहकार्य गर्न निर्देशन दिएको भारतीय दूतावासले ट्वीटर मार्फत जानकारी दिएको छ । एसएसबीको गोली लागेर पुनर्वास(८ का २८ वर्षका गोविन्द गौतमको ज्यान गएको स्थानीयबासिन्दाले बताएका छन् ।

नेपाली भूमिमा स्थानीय बासिन्दाले कल्भर्ट बनाउन लाग्दा भारतीय सुरक्षाकर्मीले कल्भर्ट बनाएको ठाउँ भारतको भन्दै स्थानीय बासिन्दालाई रोकेका थिए । त्यसपछि विवाद सुरु भएको थियो । विवादपछि बुधबार राति भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा आएर नेपालीलाई कुटपिट गरेका थिए । त्यसको विरोधमा स्थानीय बासिन्दाले बिहीबार बिहानैदेखि सीमा क्षेत्रमा प्रदर्शन गरेका हुन् । त्यो प्रदर्शनका क्रममा अरु केही घाइते भएका छन् ।
यस्तै
Kanchanpur-sima-bibad6 कञ्चनपुरमा भारतीय एसएसबीको गोलीबाट एक नेपालीको मृत्यु : गोली नहानेको भारतको दाबीभारतीय सुरक्षा फौज एसएसबीको गोली लागेर कञ्चनपुरको पुनर्वास  नगरपालीका(८ का गोविन्द गौतमको ज्यान गएपछि उत्पन्न तनाव शान्त पार्न क्षेत्रिय प्रशासन कार्यालय दिपायलमा सुरक्षा बैठक बसिरहेको छ । सुदूरपश्चिमका क्षेत्रीय प्रशासक सिसिर ढुंगानाको अध्यक्षतामा प्रशासन तथा शुरक्षाकर्मीको बैठक बसिरहेको हो ।

बैठकमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी रुपेन्द्रबहादुर देउजा, सशस्त्र प्रहरी प्रमुख लगायत अन्य प्रशासकहरुको उपस्थिती छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी रुपेन्द्रबहादुर देउजाले कञ्चनपुरमा दुई सय नम्बर पिलरको बिषयमा पहिले देखिनै विवाद रहेको र त्यसै बिषयलाई लिएर आज झडप हुँदा एकजना नेपालीको गोली लागेर ज्यान गएकोले स्थिति शान्त पार्न सुरक्षा बैठक बसिरहेको जानकारी दिनुभयो ।