भोली हुने निर्वाचनको सम्पुर्ण तयारी पुरा : निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

काठमाडौं, मंसिर,२०-

निर्वाचन आयोगले भोली बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ४५ जिल्लामा बिहीबार हुन लागेको निर्वाचनको तयारी पूरा भएको जानकारी दिनुभएको हो ।

प्रमुख आयुक्त यादवले निर्वाचनमा पूर्णसुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न पनि मतदातालाई अपिल गर्नुभयो ।निर्वाचन आयोगले बिहीबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने सबैले मतदान गर्न पाउने जनाएको छ ।

यस्तै, अपांगता, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिइ मतदान गर्न पाउने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगले मतदाता परिचयपत्र लिन असमर्थ मतदाताले नागरिकता वा कुनैपनि मान्यताप्राप्त सरकारी परिचयपत्र लिएर मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

यसैबिच : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्णप्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्नु भएको छ । प्रधानमन्त्री देउवाले बुधबार एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनकरुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गर्नुभयो ।

विज्ञप्तिमा उहाँले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको छ । रासस