पेट्रोलियम पदार्थ निकासी गर्दै गरेको अवस्थामा तीन जना तस्कर प्रहरीको फन्दामा

डम्मर थापा मगर/

बाँके, कार्त्तीक, २५-

बाँके राप्तीपारि क्षेत्रबाट भारतीय क्षेत्रमा अवैध रुपमा पेट्रोलियम पदार्थ निकासी गर्दै गरेकोे अवस्थामा तीन जना तस्कर प्रहरीको फन्दामा परेका छन् । नरैनापुर गाउँपालिका वडा नं ५ बाट आज विहान भारतको श्रावस्ती जिल्लास्थीत जमुनाहा बजारमा १६० लिटर डिजल लैजान लागेको अवस्थामा इलाका प्रहरी कार्यालय भगवानपुरले नरैनापुर ५ बस्ने मनोज कुमार यादव, जितमान राढ र हिरालाल गुप्तालाई पक्राउ गरेको हो ।

बरामद भएको डिजेल र तीनैजना अभियुक्तलाई कारवाहीका लागि आज शनिवार भएकाले भोली आइतवार नेपालगन्ज भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक मुद्दा इन्चार्ज विर बहादुर थापाले बताउनुभएको छ । पेट्रोलियम पदार्थ नेपालमा सस्तो मुल्य पर्ने भएकाले यहाँका सीमानाकावाट भारतका विभिन्न सहरमा तस्करी हुदै आएको छ ।