नेपालद्वारा युएई (UAE) लाई २२२ रनको टार्गेट

काठमाडौं,मंसिर,२०-

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको टार्गेट दिएको छ । 

युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकर अर्धशतकीय पारीको सहयोगमा ६ विकेट गुमाएर २२१ रन बनाउन सफल भएको हो ।

घरेलु टोली युएईले अहिले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ  । नेपालका शरद भेषावकरले ८१ रनको सर्बाधिक अविजित पारी खेले, जसको सहयोगमा नेपालले सम्मानित रन बनाएको हो । तेस्रो नम्बरमा ब्याटिङमा आएका भेषावकरले ९५ बल खेलेर ५ चौका प्रहार गरेका हुन् । 

टिमको स्कोर ४३ हुँदा पहिलो विकेटका रुपमा नेपालले १४.५ ओभरमा दिलिप नाथलाई व्यक्तिगत १६ रनमा गुमाएको थियो । नेपालले ८४ रन बनाउँदा दोस्रो विकेट गुमायो । अर्का ओपनर ज्ञानेन्द्र मल्ल अर्धशतकीय पारी खेल्दै ५४ रनमा एलबीडब्ल्यू आउट भए । ८३ बल खेलेका ज्ञानेन्द्रले ६ चौका प्रहार गरेका थिए ।

त्यसपछि आएका कप्तान पारस खड्काले २० रनमात्र जोड्न सके । उनी ३४.२ ओभरमा पेविलियन र्फकँदा नेपालले १२२ रन बनाएको थियो । त्यसको दुई ओभरपछि आरिफ शेख दुर्भाग्यबस रनआउट हुन पुगे । रनले खाता खोल्नै पाएनन् ।

छैटौं नम्बरमा आएका बिनोद भण्डारीले पनि ४ रनमात्र बनाउन सके । सोमपाल कामीले १९ बलमा ३ चौकाको सहयोगमा नेपालको खातामा २० रन जोडे ।

नेपालका लागि बसन्त रेग्मीले अविजित १४ रन बनाए । बलिङतर्फ युएईका जहुर खान २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले १/१ विकेट लिएका थिए ।