आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं,असार,२७-नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ।

विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक एक वर्षपछि केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ।

यस बीचमा पटक पटक बैठकको मिति तोक्दै सार्दै गरिएको थियो। केन्द्रीय समिति बैठक बुधबार बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरु बसेर बैठकका एजेण्डालाई अन्तिम रूप दिने बताइएको छ।

बुधबारदेखि शुरु हुने वैठकमा गत मंसीर ४ गते सम्पन्न आमनिर्वाचनको समीक्षा गरिने भएको छ।यस्तै पार्टीको नीति महाधिवेशन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।यस्तै, सदस्यता वितरण, कार्यसम्पादन समिति बैठकका निर्णयहरूको अनुमोदनलगायतका विषय पनि बैठकका एजेण्डा हुने बुझिएको छ।

भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको तदर्थ समिति गठनबारे पनि छलफल हुने बताइएको छ।केन्द्रदेखि स्थानीय तहसम्मका कांग्रेस संलग्न सरकारहरुका कामको समीक्षा गर्नुपर्ने विषय पनि बैठकमा उठ्ने जनाइएको छ।

यस्तै,भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी मुद्दा खेपिरहेका मन्त्री बालकृष्ण खाँडलाई पार्टीबाट निलम्वन गर्नुपर्ने विषय पनि वैठकमा जोडतोडले उठाउने तयारीमा केही नेताहरु लागेका छन्।तर, पार्टी सभापति शेरबहादुर देउवा भने खाँड निलम्वनको विषयलाई वैठकको एजेण्डा नबनाउने अडानमा रहेको बुझिएको छ।