आज महाशिवरात्री पर्व मनाईंदै

देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड

काठमाडौं, फागुन १-

आज देशैभर महाशिवरात्रि पर्व मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरुले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा–आराधना गरिरहेका छन् ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

शिवधुनीपछि जाडो बिदा हुने जनविश्वास रहेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा शिवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशका विभिन्न भागका साथै भारतका तीर्थयात्रीको घुइँचो लागेको छ ।