गलत टिप्पणी नगर्न सम्बन्धित पक्षलाई प्रधानमन्त्रीको आग्रह

आफ्नो भारत भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसदलाई जानकारी

काठमाडौं, भदौ १२-

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताउनु  भएको छ ।

व्यवस्थापिका–संसदको आजको बैठकमा आफ्नो राजकीय भारत भ्रमणकाबारेमा जानकारी गराउँदै उहाँले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रस्टरुपमा विषयवस्तु राखेको र समाधान हुने विश्वाससमेत पैदा भएको बताउनुभयो ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) आगामी एक महिनाभित्र सम्पन्न गर्नेगरी भारतीय समकक्षीसँग कुराकानी भएको उल्लेख गर्दै उहाँले ऊर्जा व्यापार सम्झौताको मर्म र भावनाअनुसार नै मुलुकमा ऊर्जा उत्पादनलाई बढवा दिने र प्रसारणलाइन निर्माण गर्ने सन्दर्भमा सहमति भएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री देउवाले आर्थिक विकास र नेपालमा लगानीका लागि आफूले भारतीय पक्षसँग कुरा गरेको, पर्यटन क्षेत्रको विकास तथा विस्तार, निजगढ विमानस्थल निर्माण तथा नयाँ १३२ केभी क्षमताको प्रसारणलाइन निर्माणमासमेत सहमति भएको बताउनुभयो ।

कुशाहा–कटैया, रक्सौल–परवानीपुर प्रसारणलाइनको उद्घाटन गरिएको र आगामी हिउँदमा नेपालको ऊर्जा मागलाई सम्बोधन गर्न मार्ग प्रशस्त गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो आठओटा विभिन्न विषयमा समझदारी भएको छ ।

प्रधानमन्त्री देउवाले थप नयाँ स्थानमा प्रसारणलाइन निर्माणलाईसमेत अगाडि बढाइने सहमति भएको बताउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि ऊर्जा र पर्यटन क्षेत्रको विकास, ठूला आयोजना अगाडि बढाउने र त्यसको कार्यान्वयनमा जोड दिनेतर्फ नेपाल र भारत सहमत भएको जानकारी दिनुभयो ।

यस्तै, माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता जलविद्युत् आयोजना अगाडि बढाउने सन्दर्भमासमेत महत्वपूर्ण छलफल भएको बताउँदै उहाँले ठूला र महत्वपूर्ण आयोजना क्रमशः अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मेची पुल निर्माण, सुदूरपश्चिम र पश्चिमाञ्चल क्षेत्रका विभिन्न विकास आयोजना तथा अन्य ठूला आयोजना, व्यापार विविधिकरणलगायतका विषयमासमेत सहमति भएको पनि बताउनुभयो ।

संविधान निर्माण र कार्यान्वयन गर्ने विषय नेपालको आन्तरिक विषय रहेको र यसमा अरुको चासो रहनुपर्ने विषय नभएको भन्दै उहाँले आफूसँग जोडिएर गरिएको प्रचार र टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको स्पस्ट पार्नुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकको आन्तरिक विषयमा आफूले केही पनि उल्लेख नगरेको भन्दै गलत टिप्पणी नगर्नसमेत सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो–‘नेपालको आन्तरिक विषय र संविधानकाबारेमा कुनैपनि सम्झौता हुन सक्दैन, अनावश्यक टिप्पणीको अर्थ रहँदैन ।’

संविधानप्रति रहेको असन्तुष्टिलाई सम्बोधन गरी यसको सर्वस्वीकार्य बढाउने प्रयास अझैपनि जारी रहेको स्पस्ट पार्दै प्रधानमन्त्री देउवाले नेपालको लोकतन्त्र र शान्ति–प्रक्रिया विशिष्ट तवरले अगाडि बढिरहेको जानकारी गराउनुभयो ।

उहाँले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन सफल भएको र त्यसले नेपाललाई दीर्घकालीनरुपमा लाभ प्राप्त हुने बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म प्रधानमन्त्री देउवाले भारतको राजकीय भ्रमण गरेका थिए ।

प्रधानमन्त्रीकारुपमा उहाँको यो चौथो भ्रमण हो । पछिल्लोपटक उहाँको नेतृत्वमा सरकार गठन भएपछिको भने यो पहिलो विदेश भ्रमण हो ।

प्रधानमन्त्रीले आफूलाई भारत सरकारले राजकीय भ्रमणको सम्मान दिएको र राष्ट्रपति भवनमा आवासको व्यवस्था गरेकोसमेत सदनलाई जानकारी गराउनुभयो ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतीय प्रधानमन्त्री र नेताहरुले आफू र आफू नेतृत्वको प्रतिनिधिमन्डललाई बधाइ दिएकोसमेत प्रधानमन्त्रीले स्पस्ट पार्नुभयो ।

भ्रमणपूर्व आफूले पूर्वप्रधानमन्त्री, सरोकार भएकाहरुसँग र निजी क्षेत्रसँग पनि छलफल गरेको भन्दै आफ्नो भ्रमण सफल भएको उहाँले बताउनुभयो । रासस