फिफा विश्वकप छनोट : कुवेतविरुद्ध नेपालको कप्तानी किरणले गर्ने

कुवेत जाने राष्ट्रिय फुटबल टिमको विदाई

काठमाडौं,भाद्र,१३-

फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलमा नेपालको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँगको खेलका लागि नेपाली टोलीको कप्तानी किरणलाई दिएको हो ।

नियमित कप्तान विराज महर्जन टिमबाहिर रहेपछि किरणले नेपाली टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् । यसअघि उनी उपकप्तान रहेका थिए । कप्तान विराजको फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् । 

यसै साता मलेसियन लिग च्याम्पियन जोहोर साउदर्न टाइगर्स एफसीसँग मैत्रिपूर्ण खेलमा नेपालको कप्तानी सुजल श्रेष्ठले गरेका थिए ।  किरण ट्रायलका लागि जापानमा रहेको कारण सुजलले कप्तानी गरेका थिए ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

यसैबिच : फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कुवेतसँगको ‘अवे खेल’ खेल्न जाने नेपाली टोलीलाई विदाई गरेको हो । नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब रमेश सिलवाल लगायत एन्फा पदाधिकारीले विदाई गरे । नेपाली टोली आइतबार विहान कुवेत प्रस्थान गर्नेछ ।

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोट अन्तर्गत नेपालले भदौ १९ गते कुवेतसँग उसैको मैदानमा खेल्नेछ ।

नेपालले कुवेत र चाइनिज ताइपेसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा बिहिबार नै गरिसकेको छ । नेपालले ताइपेसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ । 

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । साभार : खेलपाटीबाट

नेपाली टिम :

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ 

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल 

मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई 

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ