पानामामाथि बेल्जियमको शानदार जित

ट्युनिसियामाथि इङ्ल्याण्डको जित

काठमाण्डौं,असार,५-

विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बेल्जियमले विजयी सुरुवात गरेको छ । पानामालाई ३-० ले हराउँदै बेल्जियमले विश्वकप फुबटलमा शानदार सुरुवात गरेको हो ।

गएराति सोचीस्थित ओलम्पिक रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा बेल्जियमले लय समात्यो ।

४७ औं मिनेटमा ड्राईज मर्टिन्सले गोल गर्दै टोलीलाई अग्रता दिए । लगातार आक्रमण गरेको बेल्जियमले ६९ औं मिनेटमा रोमेलु लुकाकुको गोलमार्फत आफ्नो अग्रता दोब्बर पार्‍यो । ७५ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमको ३–० को जित निश्चित पारे । यो जितसँगै बेल्जियमले विश्वकप फुटबलको समूह ‘जी’ मा सुरुवाती अग्रता लिएको छ । 

यसैविच : इङ्ल्यान्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको हो । भोल्गोग्राद एरिनामा भएको खेलको ११ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिए ।

३५ औं मिनेटमा ट्युनिसयाले पेनाल्टी हान्ने अवसर पायो । यही अवसरलाई फेर्जानी सासीले गोलमा बदलेपछि खेल १–१ गोलको बराबरीसम्म पुग्यो ।

ईन्जुरी समयमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डको जित पक्का गरे । सन् २००६ को विश्वकप फुटबलपछि इङ्यान्डले कुनै पनि मुख्य प्रतियोगिताको पहिलो खेलमा जित हात पारेको यो पहिलो अवसर हो ।