नेपालमा कोरोनाले लियो ११ जनाको ज्यान, एकैदिन २७८ जनामा संक्रमण

संक्रमितको संख्या २९ सय १२ पुग्यो

काठमाडौं,जेठ,२३-नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दुई हजार ९१२ पुगेको छ ।पछिल्लो २४ घन्टामा २७८ जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको हो ।थपिएकामा ११ जना महिला हुन् ।

कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

बुधबार राति मृत्यु भएका सुर्खेतका २८ वर्षे युवामा कोरोना ‘पोजिटिभ’ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको उहाॅंले जानकारी दिनुभयो ।अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको संख्या ३३३ जना पुगेको छ । जसमा महिला ६१ जना छन् ।शुक्रबार ४० जना डिस्चार्ज भएका छन् ।

सबैभन्दा बढी कोशी अञ्चल अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु ६ देखि ११औं दिनको अवधिमा डिस्चार्ज भएका डा. देवकोटाले बताउनुभयो ।हाल देशभर एक लाख ६६ हजार ७६५ जना ‘क्वारेन्टिन’मा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ६० हजार २२६ जना रहेका छन् ।दुई हजार ५६८ संक्रमित व्यक्तिहरु ‘आइसोलेसन’मा रहेका उहाॅंले जानकारी दिनुभयो ।