युएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरबियाको जहाज काठमाडौं आइपुग्यो

काठमाडौं,जेठ,२३-कोरोना भाइरसको महामारीको संक्रमण रोक्न गरिएको लकडाउनका कारण यूएईमा रोकिएका १६८ जना नेपाली नागरिक लिएर आएको एअर अरेबियाको विमान काठमाडौंमा अवतरण गरेको छ ।

सारजाह विमानस्थलबाट शुक्रबार आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अरु बाँकी कम्पनीमा कार्यरत व्यक्तिहरु रहेको जनाइएको छ ।

अहिले आएकाहरु पहिले तय भएको सूची अनुसारका व्यक्तिहरु नभएको सैनिक स्रोतको भनाइ छ । यसअघि गर्भवतीसहित अफ्ठ्यारामा परेकाहरुलाई ल्याउने भनिएकोमा प्राविधिक कारण देखाउँदै उनीहरुलाई यूएईमै रोकिएको जनाइएको छ ।

उनीहरुलाई अब स्वास्थ्य जाँच गरी प्रदेशगत रुपमा काठमाडौं, भक्तपुर र ललितपुरमा सेनाले तयार पारेका ९ वटा होल्डिङ सेन्टर राखिने जनाइएको छ । विमानस्थल कार्यालयका अनुसार विमानमा एकक शिशु, एक शवसहित १६८ जना ल्याइएको हो ।

यसअघि शुक्रबारै म्यानमारबाट पनि २६ जना नेपालीको उद्धार गरेर ल्याइएको थियो । उनीहरुलाई लिएर म्यानमारको सेनाको विशेष विमान काठमाडौं आएको थियो । म्यानमारबाट आएकालाई बसुन्धारास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको छ ।