आज विश्व वातावरण दिवस

जैविक विविधताको व्यवस्थापन र वातावरण संरक्षणमा ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं,जेष्ठ,२३-आज विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिन्छ।दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण र वातावरणको व्यवस्थापनका लागि ध्यान पुर्‍याउन सबै निकायसँग आग्रह गर्नुभएको छ ।

विश्व वातातरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाॅंले यस दिनले जैविक विविधताको संरक्षणका साथै यससम्बन्धी अध्ययन, अनुसन्धान र व्यवस्थापनमा योगदान पुर्‍याउने सबै व्यक्तिलाई आ–आफ्नो जिम्मेवारी अझ सशक्त ढङ्गले अघि बढाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले निरन्तर बढ्दो जनसंख्याको चाप र विकासका क्रियाकलापको तीव्रतर कार्यान्वयनबीच वातावरणमैत्री विधि अपनाउनुपर्नेमा जोड दिँदै प्रकृतिलाई जोगाएमा मात्र मानव भविष्य सुरक्षित रहन सक्छ भन्ने विषयलाई आत्मसात् गर्दै कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

प्रकृतिको नैसर्गिक व्यवस्था प्रतिकूल रहने मानवीय क्रियाकलापले उत्पन्न हुने रोग र महामारीबाट अहिले संसार प्रभावित बनेको सन्देशमा उल्लेख छ ।

यसबाट सिर्जित दुष्परिणामस्वरुप पृथ्वीको वातावरण खल्बलिन पुगेको र अहिले विश्वभर कोरोनाजस्तो महामारीले जनस्वास्थ्य र आर्थिक जीवनलाई असर पुर्‍याएको उहाॅंले बताउनुभएको छ ।