दाङमा आज देखि अनिश्चितकालीन बन्दको आह्वान

प्रदेश नं. ५ को राजधानी दाङ हुनु पर्ने माग

रोशन घर्ती/

दाङ,माघ,३-

प्रदेश नम्बर पाँचको राजधानी माग गर्दै गरिएको आन्दोलनले दाङ जिल्ला ठप्प बनेको छ । सरकारले  बाहेकको स्थानलाई प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्ने सुचना मिलेको भन्दै दंगालीहरु त्यसको बिरुद्ध सडकमा उत्रिएका हुन् ।

आज देखि अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । बन्दका कारण विहानै देखि दाङको यातायात, शिक्षण संस्था,बजार, उद्योग धन्दा सबै ठप्प छन् । राजधानी माग गर्दै गरिएको बन्दका कारण पूर्व पश्चिम महेन्द्रराज मार्ग पूर्ण रुपमा ठप्प पारिएको छ ।

देउखुरीको लमहीमा आन्दोलनकारीहरु बजार संगै महेन्द्र राजमाग पूर्ण रुपमा अवरुद्ध पारेर बसेका छन् । लमहीको आन्दोलनका कारण पूर्व पश्चिम राजमार्गमा थुप्रै यात्रुहरु अलपत्र परेका छन् ।यसैगरि जिल्ला सदरमुकाम घोराही पनि पूर्ण रुपमा बन्द छ ।

आन्दोलनकारीहरुले बजार, शिक्षण संस्था पूर्ण रुपमा ठप्प पारेर बजारमा प्रदर्शन गरिरहेका छन् । यसैगरि अर्को प्रमुख व्यापारिक केन्द्र तुलसीपुरमा गरिएको बन्दले राप्तीका पहाडी दुई जिल्लाको आवागमन ठप्प बनेको छ ।

तुलसीपुर हुँदै पुग्नु पर्ने रुकुम र सल्यानका लागि विहानै देखि यातायात सेवा ठप्प बनेको छ । यसैगरि त्यहाँको बजार पनि पूर्ण रुपमा बन्द छ ।

पाँच नम्बर प्रदेशका १२ वटै जिल्लाको पायक पर्ने दाङ नै राजधानीको एक मात्रै बिकल्प रहेको भन्दै आन्दोलनकारीहरुले दाङलाई प्रादेशिक राजधानी घोषणा नगर्दा सम्म बन्दरुपी आन्दोलन जारी रहने चेतावनी दिएका छन् । भोलीबाट भने अस्पताल र एम्बुलेन्स बाहेक सम्पुर्ण बन्द गरीने चेतावनी दिएका छन ।