मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने प्रधानमन्त्री ओलीको तयारी

सरकारमा फोरम पनि सहभागी हुने

काठमाडौं,चैत्र,२-

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गर्नुभएको छ । सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि प्रधानमन्त्री ओलीले आज एमाले, माओवादी केन्द्र र संघीय फोरमलाई समेटेर सरकारलाई पूर्णता दिने तयार गर्नुभएको हो ।

केहि दिनयता प्रधानमन्त्री ओलीले माओवादी केन्द्र, संघीय फोरम र राजपाका नेताहरूसँग निरन्तर छलफल जारी राख्नुभएको थियो । राष्ट्रपति चुनावपछि सरकारलाई पूर्णता दिने बताउँदै आउनुभएका प्रधानमन्त्रीले दलहरुसँगको छलफल सकारात्मक भएपछि आज सरकारलाई पूर्णता दिन लाग्नुभएको उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

सरकारमा संघीय फोरम पनि सहभागी हुने नै भएपछि एमाले–माओवादीले यसअगाडि भागबन्डा गरेको मन्त्रालय संख्यामा दुवैका एक–एकवटा घटाएर फोरमको व्यवस्थापन गर्ने तयारी भएको छ । त्यसो हुँदा एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय भाग आउनेछ ।

यसैबीच : सरकारमा पठाउन मन्त्रीको अन्तिम टुंगो लगाउन एमाले र माओवादी केन्द्रले आन्तरिक छलफललाई जारी राखेका छन् । सरकारमा पठाउनले मन्त्रीको मोटामोटी टुंगो लगाइसकेका दुवै दलले त्यसलाई अन्तिम रुप दिन छलफल जारी राखेका हुन् ।

माओवादीका तर्फबाट यसअघि नै गृहमा रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमा मातृका यादवले मन्त्रीको रूपमा सरकारमा काम गरी राख्नुभएको छ । माओवादीले ६ मन्त्रालय पाउँदा प्रदेश ७ बाट बिना मगर, प्रदेश २ बाट गिरिराजमणि पोखरेल, प्रदेश ५ बाट वर्षमान पुन र प्रदेश ६ बाट नेताद्वय जनार्दन शर्मा र शक्ति बस्नेतमध्ये एकलाई पठाउने तयारी गरेको छ ।

एमालेबाट भने प्रदेश १ बाट भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ, २ बाट रघुवीर महासेठ, ३ बाट कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, प्रदेश ४ बाट रवीन्द्र अधिकारी, प्रदेश ५ बाट प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा, ७ बाट प्रेम आले र नारदमुनि रानाको नाम चर्चामा छ । एमालेले अब पाँच वटा मन्त्रालयमा मन्त्री पठाउनुपर्नेछ ।नेपालवाणीबाट