वैशाख २० देखि बन्द आन्तरिक उडान आजबाट खुल्यो

काठमाडौं,असार,१७-कोरोना महामारी नियन्त्रणका लागि भनेर गत वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान आज (बिहीबार) बाट खुला गरिएको छ।

त्यसका लागि नागरिक उड्डयन प्राधिकरणले सरकारको आदेशअनुसार हिजै (बुधबार) चारवटा वायुसेवाको उडान तालिका स्वीकृत गरिसकेको छ।

प्राधिकरणका अनुसार जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरिएको हो। उडान बिहान साढे ६ बजेदेखि साँझ ६ बजेसम्म हुनेछन्।

प्राधिकरण उडान अनुमति शाखाका अनुसार काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान गर्न अनुमति दिइएको हो।

पहिलो चरणमा यी चारवटा वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगन्‍ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन्।

प्राधिकरणद्वारा स्वीकृत तालिकाअनुसार काठमाडौंबाट दैनिक विराटनगर १०, भैरहवा ९, नेपालगन्‍ज र भद्रपुर ७/७, जनकपुर र सिमरा ६/६, पोखरा ५ र धनगढी ४ वटा उडान हुनेछन्।

त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुरलगायत दुर्गम क्षेत्रमा दैनिक ८ वटा उडान हुने प्राधिकरणले जनाएको छ।

उडान गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेछ। जसअनुसार, यात्रुको भिड नहोस् भनेर काठमाडौं तथा बाहिरका विमानस्थलमा एक पटकमा एउटा विमानलाई मात्र प्रवेश दिइनेछ।

यसैगरी विमानस्थलको र्‍यामबसमा यात्रुले सामाजिक दुरी कायम गरेर बस्नुपर्नेछ। जहाजमा भने सबै सिटमा यात्रु राख्न अनुमति दिइएको प्राधिकरणले जनाएको छ।

तर यात्रुले अनिवार्य मास्क, भाइजर प्रयोग गर्नुपर्नेछ। विमानस्थलमा अनिवार्य ज्वरो नापिनेछ।