बार्सिलोनासंग मेस्सीको सम्झौता समाप्त

सो वापत बार्सिलोनाले कुनै मुल्य पाउने छैन

फाईल तस्विर !!

एजेन्सी,असार,१७-लियोनल मेस्सीको बार्सिलोनासंगको सम्झौता समाप्त भएको छ । गत रातिबाट मेस्सी फ्रि-एजेन्ट बनेका छन् । मेस्सी अब कुनैपनि क्लबमा जान स्वतन्त्र छन् ।

विश्व क्लब फुटबलका एक महान खेलाडी मानिने मेस्सी आधिकारिक रुपमा पहिलो पटक बजारमा उपलब्ध भएका छन् । युरोपका धनाढ्य क्लब म्यान्चेष्टर सिटीदेखि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेस्सीलाई किन्न सक्नेछन् ।

बार्सिलोनाले छाड्ने पछिल्ला १२ महिनाको कोशिश पछि मेस्सी अनुबन्धबाट बाहिर आएका छन् ।

बार्सिलोनाको एकेडेमीबाट आएका मेस्सीले आफ्नो सम्पुर्ण करियर क्लबमै बिताए । तर पछिल्लो समय कुनै पनि ठुला प्रतियोगिता जित्ने योजना बन्न नसकेपछि मेस्सी क्लबसंग असन्तुष्ट थिए । उनले गत सिजननै पहिलो पटक क्लब छाड्ने निर्णय गरेका थिए । तर सम्झौताको बुँदा देखाउँदै क्लबले उनलाई रोकेर राखेको थियो ।

अर्जेन्टिनी फरवार्डको सम्झौता गत रातिबाट सकिएको हो । विभिन्न दाबी र अनुमानलाई गलत सावित गर्दै सम्झौता नविकरणका लागि मेस्सी क्लबसंग तयार भएनन् ।

नयाँ सम्झौताका लागि छलफल भईरहेको छ । मेस्सीले नाउ क्याम्पमै पनि बस्न सक्नेछन् । तर उनी तत्काल बजारमा उपलब्ध छन् । मेस्सी निशुल्क रुपमा कुनैपनि क्लबमा अनुबन्ध हुन सक्नेछन् । सो वापत बार्सिलोनाले कुनै मुल्य पाउने छैन ।