कांग्रेस संसदीय समितिको बैठक आज पनि बस्दै

उम्मेदवार टुंगो लगाउन कम्यूनिष्ट गठबन्धन छलफलमा

काठमाडौं,कार्तिक,१२-

प्रदेश र प्रतिनीधिसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न कांग्रेस संसदीय समितिको बैठक आज पनि बस्दैछ । गठवन्धनवीच सिटसंख्या बाँडफाँड र पार्टीभित्रै आन्तरिक भागवण्डा मिलाउन पर्ने भएकाले संसदीय समिति बैठक लम्विदै गएको हो ।

बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहानैदेखि सुरुहुने नेताहरुले बताएका छन् । प्रतिनिधि सभातर्फको उम्मदवारको विषय अन्तिम चरणमा पुगेकाले आज प्रदेश सभाका उम्मेदवारको विषयमा छलफल हुने कांग्रेस नेता एवं संसदीय समिति सदस्य अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।

लोकतान्त्रिक गठवन्धनमा आवद्ध दललाई पनि सहभागी गराउनुपर्ने भएकाले कुन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय थप गृहकार्य गर्नुपरेकाले छलफल लम्बिएको नेता केसीले बताउनुभयो ।

संसदीय समितिले उम्मेदवारको नामावली टुंग्याएसँगै कांग्रेस नेता विमलेन्द्र निधिको संयोजकत्वमा गठित कार्यदलले पनि सिट संख्या बाँडफाँड टुङ्ग्याउने छ । निर्वाचन क्षेत्र बाँडबाँडको विषयमा कार्यदल स्तरमा पनि छलफल भइरहेको गठवन्धनमा आवद्ध दलले जनाएका छन् ।

दुई नम्बर प्रदेशमा २८ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरमले २० सिट मागेपछि कार्यदललाई क्षेत्र बाँडफाँडमा समस्या भएको हो । राजपाले भने कांग्रेसकै कारण सिट बाँडफाँडमा समस्या भएको आरोप लगाएको छ ।

यसैबिच : कांग्रेसले आज सिट बाँडफाँडको विषय टुंग्याउन दुई राप्रपाका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्दै छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)का शीर्ष नेताहरुसँग छुट्टछुट्टै छलफल गरी तालमेल र लेनदेनको विषय टुंग्याउने कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण ढुंगेलले जानकारी दिनुभयो ।

राप्रपा र राप्रपा (प्रजातान्त्रिक)का शीर्ष तहका नेताहरुलाई कांग्रेसले सहयोग गर्ने र बाँकी स्थानमा दुई दलले कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने अनौपचारिक सहमति बनिसकेकाले आजको बैठकमा औपचारिक रुपमै निर्णय हुने बताइको छ ।

कम्यूनिष्ट गठबन्धन छलफलमा

उम्मेद्वार छनोटको अन्तिम विन्दुमा पुगेको कम्यूनिष्ट गठबन्धनले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन आजपनि छलफलमा जुटेको छ ।

दोस्रो चरणमा निर्वाचन हुने १ सय २८ निर्वाचन क्षेत्रमध्ये १ सय ७ क्षेत्रको टुंगो लागिसकेको गठबन्धनले बाँकी क्षेत्रकालागि आन्तरिक छलफलमा जुटेको हो । त्यसमध्ये एमालेलाई ७२ र माओवादी केन्द्रलाई ३५ सिट छुट्याइएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यदलस्तरमा केही स्थानमा देखिएको विवाद समाधान गर्दै साझा उम्मेदवार टुंगो लगाउने तयारी भएको छ ।