मतपत्र विवादः निर्वाचन आयोगले विज्ञहरुसंग आज छलफल गर्दै

काठमाडौं,कार्तिक,१२-

सर्वोच्च अदालतको पछिल्लो आदेशका कारण प्रदेश र प्रतिनिधीसभा निर्वाचनको मतपत्र एउटै वा फरक फरक छाप्ने भन्ने अन्योलमा रहेको निर्वाचन आयोगले सो विषयमा आज विज्ञहरुसंग छलफल गर्ने भएको छ ।

आयोगले आज कानुनविदहरुसंग कानुनी, प्राविधिक र व्यवहारीक सवै पक्षका विषयमा छलफलगरी उपयुक्त निर्णय लिने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभएको छ । उहाँले आयोग निर्धारित मितिको चुनाव कुनैपनि हालतमा प्रभावित नहोस भन्नेतर्फ केन्द्रित रहेको बताउनुभयो ।

सर्वोच्च अदालतले कार्तिक १ गते समानुपातिक तर्फको मतपत्र छापिसकेकोले त्यसलाई नरोक्ने तर प्रत्यक्षतर्फको मतमत्र छाप्न वाँकी रहेकोले दुवै सभाकालागी अलग अलग मतपत्र छाप्नुपर्ने आशयको आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेशपछि पनि निर्वाचन आयोगले त्यसलाई कार्यान्वयन नगर्ने मनसाय देखाएको भन्दै राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले आयोगले अदालतको मानहानि गरेको दाबीसहित दिएको निवेदनमा सर्वोच्चले दुईवटा मतपत्र छाप्नैपर्ने प्रस्ट सन्देशसहितको आदेश दिएको छ ।नेपालवाणीबाट