नागरिक प्रति उत्तरदायी भएर काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री दाहालकाे निर्देशन

काठमाण्डाैं,जेठ,१९-

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक प्रति जनमुखी, जनउत्तरदायी भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।

प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ६५ औ समूहको दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नागरिक सेवामा समर्पित भएको संगठन भएको कारण सदैव नागरिक प्रति उत्तरदायी र जिम्मेवार बन्न निर्देशन दिनुभएको हो ।

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले समय र प्रविधिको विकास सँगसँगै अपराधको क्षेत्रमा समेत नयाँ नयाँ चुनौति थपिएको भन्दै संवेदनशील रहन आग्रह समेत गर्नुभयो ।

सरकारले संघीय संरचनामा मुलुकभर आवश्यक पर्ने प्रहरी जनशक्तिको उत्पादन तथा विकास गर्ने केन्द्रीय प्रशिक्षण संस्थाको रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको विकास गर्न सरकार प्रतिबद्ध रहेको समेत बताउनभयो ।

कार्यक्रममा उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले नागरिकको आकाक्षा अनुसार नागरिक सुरक्षा तथा कानुनी शासन प्रत्याभुत गराउदै राष्ट्रसेवामा सर्मपित हुन प्रहरी संगठनलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधी दुवैले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुको साथै दिक्षित भएका प्रहरी निरीक्षकहरुलाई शुभकामना तथा बधाई दिदै सफलताको कामना गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले परिस्थिति जन्य र भौतिक चाहानाबाट माथि उठेर व्यवसायिक अधिकृतको रुपमा स्थापित गराउन प्रहरी अधिकृतहरुलाई सचेत गराउनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्य्राजुएट डिप्लोपा इन पुलिस साइन्सेस कार्यक्रममा सहभागी १ सय ३२ जना प्रशिक्षार्थी मध्येका उत्कृष्ठलाई प्रधानमन्त्री दाहालले पुरस्कार प्रदान गर्नुभएको थियो ।नेपालवाणीवाट