कोरोनाको उत्पति चीनले होईन प्राकृतिक रुपमै भएको डब्लुएचओको भनाई

मृत्यु हुनेको संख्या २ लाख ३९ हजार नाघ्यो

काठमाडौं,बैशाख,२०-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उत्पति प्राकृतिक रुपमा भएको जनाएको छ ।डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले उक्त भाइरसको उत्पति प्राकृतिक रुपमै भएको दावी गरेका हुन ।

गत महिना डब्लुएचओले नै कोरोना भाइरस जनावरहरुबाट फैलिएको हुनसक्ने आंकलन गर्दै घरपालुवा जनावरको मासु आयात निर्यातमा रोक लगाउनुपर्ने जनाएको थियो ।

पछिल्ला दिनहरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफू उत्पति गरेको कोरोना भाइरसका कारण आफ्नो देशलाई नोक्सान पुर्‍याउन खोजेको प्रतिक्रिया दिएका थिए ।

राष्ट्रपति ट्रम्पले गत वर्ष डिसेम्बरमा वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना चीनका अन्य शहरमा नफैलिएकाले पर्याप्त आशंका गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका थिए ।

ट्रम्पको उक्त अभिव्यक्तिप्रति चीनले कडा आपत्ति जनाएको थियो ।शक्ति राष्ट्रहरुबीच कोरोना भाइरसको विषयलाई लिएर विवाद भएपछि डब्लुएचओले भाइरसको उत्पतिका बारेमा अनुसन्धान गरिरहेको बताएको थियो ।

यसैबीच विश्वभर करिब ३४ लाख मानिस कोरोनाको संक्रमित भएका छन् ।२ लाख ३९ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने एक लाख असी हजार मानिस उपचारपछि घर फर्किएका छन् ।हालसम्म अमेरिकामा सबैभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा मात्र कोरोनाका कारण ६५ हजार सात सय भन्दा बढीको मृत्यु भएको छ भने ११ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । (एजेन्सी)