नेपाल छिर्‍यो सलह

बारा,असार,१३-विश्वका विभिन्न देशमा बालीनालीमा व्यापक क्षति पुर्‍याएको सलह नेपालमा पनि प्रवेश गरेको छ ।भारत हुँदै बारा भित्रिएको सलहले धानबालीमा क्षति गर्न थालेको छ ।

शनिबार बिहान प्रवेश गरेको सलह किराले जिल्लाका निजगढ, डुमरवाना, सिमरा क्षेत्रमा क्षति गर्न थालेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी गराउनुभएको छ ।

सामान्य मनसुनसँगै प्रवेश गरेको सलह दिउँसो १ बजेसम्म खेतबारीमा सक्रिय रहेको कृषि ज्ञान केन्द्र बाराले जानकारी गराएको छ ।एकाएक सयौंको संख्यामा किरा खेतबारीमा प्रवेश गरेपछि किसानहरु चिन्तित बनेका छन् ।

यस्तै, पर्सा र सर्लाहीमा पनि सलह प्रवेश गरेको छ । पर्साको पर्सागढी तथा सर्लाहीको नवलपुर क्षेत्रमा सलह देखिएको हो ।बाराको कृषि ज्ञान केन्द्रले सलह प्रवेश गरेको क्षेत्र पहिल्याउँदै सलह नियन्त्रणका लागि कृषकहरुसँग छलफल गरेको छ ।

यस्तै, रुपन्देहीको भैरहवा र बुटवल आसपास तथा कपिवस्तुको वाणगंगा क्षेत्रमा पनि सलहजस्तै देखिने किराको समूह भित्रिएको छ ।सलह ठूलो संख्यामा नरहेकाले भारतबाट तितरवितर भएर हावाहुरीसँगै नेपाल आएको हुनसक्ने अनुमान विज्ञहरुले गरेका छन् ।