थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टोली पुरस्कृत

फाईल तस्विर !!

काठमाडौं,असार,२८-थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टिम नगदसहित पुरस्कृत भएका छन् ।

सरकारले आइतबार एक कार्यक्रमबीच उपाधि विजेता नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोलीलाई पुरस्कृत गर्नुभयो।

सरकारले यस अघि नै घोषणा गरेको पुरस्कार आइतबार खेलाडीलाई प्रदान गरेको हो ।

थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४/४ लाख दिने निर्णय गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको हो ।

गत चैतमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । नेपाललाई उपाधि दिलाउन संजोक राई र विशाल राई ‘बी’ ले एक एक गोल गरेका थिए ।

दशरथ रंगशालामा भएको उक्त फाइनल हेर्न प्रधानमन्त्री ओली रंगशाला पुगेका थिए । उहाँले उपाधि विजेता खेलाडीलाई मैदानमा गएर बधाई दिएका थिए ।

थ्री नेसन्सको उपाधि नेपालले ३७ वर्षपछि घरेलु भूमिमा जितेको पहिलो उपाधि हो । त्यसअघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।