नेपालमा थप १४७ जनामा कोरोना संक्रमण, १५६ जना डिस्चार्ज

काठमाडौं,साउन,८-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।वीरगंजमा बुधबार मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै मृतकको संख्या ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो ।

कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ४७ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १८ हजार २ सय ४१ परेको मन्त्रालयले बताएको छ ।अहिले सक्रिय संक्रमितहरु ५ हजार ३ सय ५८ जना रहेका छन् ।

जसमा प्रदेश १ मा १ सय २४, प्रदेश २ मा १ हजार ८ सय ९७, बागमती प्रदेशमा ४ सय २७, गण्डकी प्रदेशमा ३ सय २४, प्रदेश ५ मा ३ सय ४४, कर्णाली प्रदेशमा ३ सय ४ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ३८ जना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ५६ जना संक्रमण मुक्त भई घर फर्केका छन् । अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ ।

हाल २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् । ५ हजार ३ सय ५८ जना आइसोलेसनमा रहेका छन् ।रेडजोनमा ५ सय ३० जना रहेका छन् । पाँचथर, भोजपुर, संखुवासभा, मनाङ्ग, मुस्ताङ र रसुवा गरी ६ जिल्ला संक्रमण मुक्त रहेका छन् ।