पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, एक युवती घाइते

फाईल तस्विर !!

काठमाडौं,मंसिर,८-पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते भएकी छन्।

वडा प्रहरी कार्यालय वैदामले जनाए अनुसार मृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे हुन्।

पोखरा–२८, कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घटनामा परेको थियो।

ग्लाइडर फेवातालको किनारामा ल्याण्डिङ गर्ने क्रममा करिब २ किलोमिटर टाढा खसेको प्रहरीको भनाइ छ।

दुर्घटनामा परी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२, बासुकीकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन।

उनको अहिले यहाँको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार शिलाको अवस्था गम्भीर छ।

कोरोना महामारीले ठप्प भएको पोखराको पर्यटनलाई चलायमान बनाउन नेपाल हवाई उड्डयन संस्था (ना) ले पछिल्लो समय प्याराग्लाडिङमा ६० प्रतिशतसम्म छुट दिएको छ।

सोही छुटको उपयोग गर्दै यतिबेला पोखराको आकासमा कावा खानेहरु बढिरहेका बेला यो दुर्घटना भएको हो।

गएको चैतदेखि करिब ७ महिना साहसिक पर्यटन विधाको प्याराग्लाइडिङ बन्द थियो। नेपालखबर