लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी,कार्तिक,८-म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार घरेलु मैदान ओल्ड ट्राफर्डमा चिर परिचित प्रतिद्वन्द्वी लिभरपुलसँग लज्जास्पद हार बेहोरेको छ । फरवार्ड मोहमद सलाहको सानदार ह्याट्रिकमा लिभरपुल ५-० को जित दर्ता गर्न सफल भएको हो ।

फरवार्ड मोहमद सलाहले सानदार प्रदर्शन गरेपछि लिभरपुलले पहिलो हाफमा ४-० को अग्रता लिएको हो।सलाहकै पासमा मिडफिल्डर नाबी केइटाले गोल गर्दै लिभरपुललाई पाँचौ मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि १४ औं मिनेटमा डिओगो जोटाले गोल गर्दै अग्रता दोब्बर पारे । युनाइटेडको कमजोर डिफेन्सको फाइदा उठाउँदै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको क्रसमा जोटाले खाली पोस्टमा गोल गरेका थिए ।

३८ औं मिनेटमा केइटाको पासमा गोल गर्दै सलाहले खेल ३-० को स्थितिमा ल्याए । इन्ज्युरी समयको पाँचौ मिनेटमा जोटाको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई ४-० ले अघि बढाए ।

दोस्रो हाफको सुरुवातमै सलाहले ह्याट्रिक पूरा गरे । उनले ५० औं मिनेटमा जोर्डन हेन्डरसनको सानदार पासको सदुपयोग गरेका थिए । मिडफिल्डबाट हेन्डरसनले अफसाइड ट्रयाप बिट गर्दै दिएको आउटसाइड फुट पासलाई सलाहले पेनाल्टी क्षेत्रभित्र लगेर गोल गरेका थिए । त्यसको दुई मिनेटमै क्रिस्टियानो रोनाल्डोले युनाइटेडका लागि गोल फर्काएपनि भीएआरले उक्त गोललाई अफसाइड भएका कारण मान्यता दिएन ।

६० औं मिनेटमा युनाइटेड १० खेलाडीमा सिमित भयो । दोस्रो हाफमा मेसन ग्रीनवुडको स्थानमा प्रवेश गरेका पल पोग्बा रातो कार्ड खाँदै बाहिरिएका थिए । लिभरपुलका नाबी केइटालाई डरलाग्दो फल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै कार्ड दिए । केइटाले भने स्ट्रेचरमा मैदान छोड्नुपरेको थियो । ८३ औ मिनेटमा काभानीको प्रहार क्रसबारमा लाग्दा युनाइटेडले खेलमा सान्तवना गोल गर्न सकेन ।

यस नतिजासँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा कायम रहेको छ । टोलीले ९ खेलमा ६ जित र ३ बराबरीसँगै २१ अंक जोडेको छ । युनाइटेड भने ३ जित, २ बराबर र ३ हारसँगै सातौं स्थानमा छ । शीर्षस्थानको चेल्सीको २२ अंक छ ।