नेपालका ७७ जिल्लामा कोरोना संक्रमण, थप ५५४ जना संक्रमित थपिए

संक्रमित हुनेको संख्या १२,३०९ पुग्यो, अहिले सम्म २८ को मृत्यु, २,८३४ निको भए

काठमाडौं,असार,१३-नेपालमा शनिबार मात्र ५५४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।योसँगै संक्रमितको कुल संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फाईल : तस्विर

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७७ ओटै जिल्लामा संक्रमण देखिएको जानकारी दिनुभयो ।

रसुवाका आठ महिला र एकजना पुरुषमा संक्रमण देखिएसँगै ७७ ओटै जिल्लामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।

शनिबार बिहान कैलालीका ५० वर्षीय एक पुरुषको भरतपुर अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा १३६ जना संक्रमित उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई हजार ८३४ पुगेको छ ।