उपचुनाव वडाध्यक्षको नतीजा : कसले कहाँ कहाँ जित्यो (अपडेट)

काठमाण्डौं,मंसिर,१५- 

उपचुनावनिर्वाचन आयोगले शनिबार सम्पन्न उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ जना मतदाता रहेकामा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको आयोगले जनाएको छ।शनिबार साँझ आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको जानकारी दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ।।

रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  उम्मेदवार विजयी हुनुभएको छ । नेकपाका जनकबहादुर बुढामगरले वडाध्यक्ष पदमा १७४ मत पाएर विजयी हुनु भएकाे हाे । उहाँका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएको रोल्पाका निवार्चन अधिकृत रमेशप्रसाद ज्ञवलीले  बताउनुभयाे । 

यस्तै : बाँकेको कोहलपुर वडा नं. ६ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेकपा विजयी भएको छ ।कुल दुई हजार २६ मतदाता ध्ये एक हजार ६३४ मत खसेकोमा थारु ८०० मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली कांग्रेसका श्रीकृष्ण थारुले ७३६ मत पाउनुभयो । राप्रपाका श्रीधर सुवेदीले ६१,नेमकिपाका दिपा लक्ष्मी हमालले १३ र समाजवादीका शुभाखर पोख्रेलले १० मत पाउनुभयो । काँग्रेसबाट विजयी वडाध्यक्षको निधन भएपछि उपनिर्वाचन गरिएको हो ।

यस्तै :नवलपरासी पूर्व नवलपुरको  बौँदीकाली गाउँपालिका वडा नम्बर  ५ मा वडा अध्यक्ष पदका लागि भएको उपचुनावमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् ।वडाध्यक्ष पदका लागि भएको उपचुनावमा नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको हो । उहाँले ३६७   मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलबहादुर रानाले २११ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो ।

त्यस्तै: खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाका उम्मेद्वार शिवकला राई विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार शुक्र तामाङलाई पछि पार्दै नेकपाका उम्मेदवार शिवकला वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ मत र शुक्रले ३७४ पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।समाजवादीका रमेश राईले १५ मत र राप्रपाका इन्द्रबहादुर खड्काले १ मत मात्र पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख एवं जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले बताउनुभयो ।१७ मत बदर भएको छ ।

यस्तै: भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार जितेन्द्र राई विजयी हुनु भएको छ। उपचुनावमा राई ६९१ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार समरबहादुर कार्की २५४ मत प्राप्त गर्नुभयो । मंगोल नेसनल अर्गजनाईजेसनको तर्फबाट कला राईले ३ मत प्राप्त गर्नुभयो । कुल मतदाता एक हजार ६१६ मध्ये ५९ दशमलव ७२ अर्थात नौ सय ६५ मत खसेको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो । १६ मत भने बदर भएको छ ।

यस्तै: धुलिखेल नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार देवप्रसाद कोइराला विजयी हुनु भएको छ । नेकपा उम्मेदवार कोइराला ८६७ मतसहित विजयी हुनु भएको हो।उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दर्णबहादुर खत्रीले ५८२ मत प्राप्त गर्नुभयो । त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार कृष्णबहादुर तामाङले १५ मत प्राप्त गर्नुभयो । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बासु थापाले भने मात्रै ६ मत प्राप्त गर्नुभयो ।धुलिखेल २ मा जम्मा १५०२ मत खसेको थियो भने ३२ मत बदर भएको थियो ।

यस्तै : बडिगाड गाउँपालिका वडा नम्बर–२ को अध्यक्षमा नेकपाका ढालप्रसाद शेरचन विजयी हुनु भएको छ । राष्ट्रिय जनमोर्चाको समर्थनसमेत प्राप्त गरेका शेरचन ७०४ मत प्राप्त गरी विजयी हनु भएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिलबहादुर रानाले ४ सय १२ मत प्राप्त गर्नु भएको छ । वडाध्यक्षमा उम्मेदवारी दिएका समाजवादी पार्टीका हरिलाल रानाले भने जम्मा ६ मत प्राप्त गर्नुभयो । १२ मत भने बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ को अध्यक्षका लागि भएको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केदारनाथ आचार्य विजयी हुनु भएको छ ।आचार्यले नेपाली कांग्रेसका अशोक तामाङलाई हराउनु भएको हो । आचार्य ७१२ मत ल्याएर विजयी हुनु भएको हो । तामाङले भने ४३९ मत प्राप्त गर्नुभयो ।

यस्तै : लमजुङको सुन्दरबजार नगरपालिका-२ परेवाडाँडामा वडाअध्यक्ष पदको लागि भएको चुनावमा नेकपा उम्मेद्वार नवीनकुमार श्रेष्ठ भारी मतले विजयी हुनुभएको छ । उहाँ ९८९ मतसहित विजयी हुनु भएको हो । उहाँका प्रत्यासी नेपाली कांग्रेसका प्रकाश सेढाईँले ४८४ मत प्राप्त गर्नुभयाे । 

यस्तै : सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्षका लागि भएको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का धर्मे बुढाथोकी विजयी हुनुभएको छ । उहाँ ७ सय ९२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्गबहादुर बोहराले २ सय ५१ मत प्राप्त गर्नुभयो । 

यस्तै उता : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा नेकपाका कृष्णबहादुर तामाङ विजयी हुनु भएको छ । नेकपाका उम्मेदवार तामाङले ५ सय २८ मत ल्याएर विजयी हुनुभएको हो । भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपबहादुर तामाङले ३ सय १० मत ल्याउनुभयो । 

नेपाली काँग्रेस ।।

यसैविच : नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेस विजयी भएको हो ।प्रमुख प्रतिपक्षी कांग्रेसका गजेन्द्रबहदुर चन्दले नेकपाका उम्मेदवार लाई ४ मतले पछि पार्दै चन्द विजयी भएका हुन् । नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याए भने विजयी उम्मेदवार गजेन्द्रबहादुरले २१९ मत ल्याएका छन् ।

यस्तै : अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल ११ सय ५९ मत प्राप्त गरेर  विजयी हुनु भएको छ ।निकटतम प्रतिद्वन्द्वी नेकपाका यमलाल खनालले भन्दा १०६ भोट बढी ल्याएर शोभाखर खनाल विजयी हनु भएको हो । नेकपाका यमलालले १ हजार ५३ मत प्राप्त गर्नुभयो । कुल २२ सय २५ मत खसेकोमा ९ मत बदर भए । राप्रपाका रणबहादुर खनालले ४ भोट प्राप्त गर्नु भएको छ ।

यस्तै:भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ ।कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।

यस्तै: चितवनको भरतपुर महानगरपालिका १६ मा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् । उनले नेकपाका भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले ३१८३ मत प्राप्त गरेभने भक्तराजले २८७५ मत प्राप्त गरे ।

समाजवादी पार्टी ।।

त्यसैगरी उता : सर्लाहीको हरिपूर्वा नगरपालिका-१ मा भने समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु राय ३४७ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उहाँको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका राम विश्वास रायले ३२८ मत ल्याउनुभएको छ भने नेकपाका उम्मेदवार दोस महम्मद अन्सारी पनि ३२८ मत ल्याएर पराजित हुनुभएको छ । 

(अपडेट)