जापानमा साकुरा फूलको लोकप्रियता

सुख शान्तीको प्रतीक : साकुरा फूल

जापान,चैत्र,२३-

दुर्लभ सारु मगर

साकुरा जापानको अति लोकप्रिय फूल हो । जसलाई राजकाजमा प्रयोग हुने फूलका रूपमा चित्रण गरिएको छ ।

फूलको विशेषता वा स्वभाव नै फुल्ने हो। बास्ना र सुन्दरता छर्ने हो। फूल जंगल, बाटो, फूलबारी र कॉडाबीच फुलिदिन्छ। महल र झुपडी दुवैमा हॉसिदिन्छ। कोही आओस वा नआओस, कसैले उसको सुभाष लियोस वा नलियोस,बस फुलिरहन्छ। मुस्कुराई रहन्छ। अरुलाई आनन्दित बनाईरहन्छ।

फुल्नु भनेको कुनै पनि जीवनको उत्कर्ष हो। बिउबाट विरुवा हुदै फूलेपछि त्यो जीवन परिष्कृत भयो। सुगन्ध छर्‍यो र सबैलाई आकर्षित गर्‍यो। त्यसैले होला नारायण गोपालले गाएको कालजयी गीतमा  ‘म त लाली गुराँस भएछु बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु…’भनेर गीतकार कविले भनेका छन्।

कतिपय फूलका छुट्टै विशिष्टता र पहिचान हुन्छन। नेपालको लाली गुरॉस, जापानको साकुरा वा चेरी, बेलायतको गुलाब, फ़्रान्सको कमल जस्तै प्रिय र प्रसिद्ध छ । त्यस्तै जापानमा पनी बसन्त रितुमा फुल्ने फूल हो साकुरा । आजभोलि यो फूल जापानको वन जंगल देखि लिएर सारा संसारभरीबाट जापान आउने मानिसहरुका मनहरुमा ढकमक्कै फुलेको छ ।

यती बेला जापानका नागरिक सपरिवार,आफ्ना बालबालिका र पाल्तु जनावारहरुको समेत साकुरा फूलमा तस्बिर खिचेको देख्न सकिन्छ भने, यस्तै जापानमा अध्ययनको शिलशिलामा आएका विदेशी विद्यार्थी, विजनेष भिषा र भ्रमणमा आएका विदेशी नागरिकहरु पनी साकुराको फूल संगै मुस्कुराउँदै आफ्नो तस्विर खिच्दै कलात्मक फ्रेममा सजाएर घरमा राख्न र सामाजिक संजालमा सेयर गर्न निकै शौखिन देखिएका छन।

आजभोली के जापानीज नागरिक के विदेशी नागरीक सबै परिवार र साथीभाईसंग दिनानु दिन यो फूल र प्रकृतिसँग रमाउने गर्दछन्  । खासगरि जापानीहरु  एकआपसमा भेला भई  यस मौसममा साकुरासंगै ‘हानामी’मा फुलको वगैचामा भुईमा वसेर मनपर्ने खाना तथा मन लागेको पेय पदार्थ र मदिरा पिउने गर्दछन् । यसरी खाएमा जापानीज परम्परा अनुसार वर्षभरी सुख शान्ती हुने विश्वास गरिन्छ ।

अहिले यहाँ जापान बसोबास गर्ने सबै नेपालीलाई लागि रहेको छ कि हाम्रो देश नेपालमा जसरी बाहिरी ऑखाले र मनले हाम्रै हिमाली भेगको लाली गुंरास,पहाडी खण्डको टांकी फूल, तराई फाटको तोरी फूल र हाम्रा वनपाखामा फुल्ने प्याउली र सुनाखरी खोजेपनि चेतनाको ऑखाले यिनै साकुराका ति फूलहरु फूलिरहेको हेर्ने र रमाउने प्रयास गर्दैगर्दा मनले फेरि भन्छ  “फूलको आँखामा फूलै संसार !” र खुशी थपिन्छ ह्दयमा। 

फूलको चर्चा गर्दैगर्दा जापानीजहरु फूल,बोटविरुवा र हरियालीका पारखी हुन्छन् भन्न कन्जुस्यॉई गर्नु हुदैन। किनकि प्राय: यहाँको शहरहरुमा बाटो घाटोमा प्रत्येक घरमा एक वा दुई छायाँ वा शितल दिने बोटविरुवा रहेको पाउछौं ।यहाँको अधिकांश घरहरुमा फूलबारि र बरबगैचा अनि प्रत्येक टोल र छिमेकको नजिकै पार्क उद्यानहरु, सड़क छेउमा बोटविरुवा र तिनिहरुको संरक्षण संबर्द्धनमा जनता यहाँको सरकारले गरेको काम र हरियाली कायम राख्न, वातावरण सुन्दर बनाउन गरेको प्रयास निकै उल्लेखनीय छ।

अन्त्यमा म के भन्न चाहान्छु भने साकुरा फूलले छर्ने सौन्दर्यता र आनन्द कालो गोरो, धनी, गरीब, ठूलो, सानो, ख्याती प्राप्त, सामान्य व्यक्ति सबैलाई एकैनासको छ।यहाँ कुनै  विभेदकारि छैन र फूलले विभेद पनी गर्दैन । त्यस्तै सबैमा यो फूल हेर्ने,उस्को समिपमा जान चाहने ईच्छापनि उस्तै छ सत्यम् शिवम् सुन्दरम् जस्तै छ । यो अस्तित्वको सृजना र प्रकृतिको नियम विचित्रको छ । हरेक प्राकृतिक चिजहरुको स्वभाव अद्वितीय र सुन्दर छ। हामी यो ब्रम्हाण्डको अनुभुत गर्ने हो भने, अन्तरमुखी भएर चेतनाको भित्री नयनले हेर्ने भने परमात्मा यहि छ, स्वर्ग यहि छ । सत्य यहि छ। प्रेम करुणा यहि छ। #जय साकुरा फूल !!

                 ….………✍🏼 

                                   दुर्लभ सारु मगर

                            फुकुओका,जापान