नयाॅं ३८० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २२,९७२ पुग्यो

काठमाडौं, साउन,२५-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिकाका ६२ वर्षीय एक पुरूष र पर्सा वीरगञ्जकी २० वर्षीया महिला हुन् ।यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।पछिल्लो २४ घण्टामा ३ सय ८० जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

जसमा काठमाडौं उपत्यकाका ९२ जना छन् ।काठमाडौंमा ९०, ललितपुरमा २ जना संक्रमित देखिएका छन्।पछिल्लो २४ घण्टामा ४० जनामात्रै कोरोना संक्रमण मुक्त भएका छन् ।

अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या १६ हजार ३ सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

अहिले ११ हजार ३८ जना क्वारेन्टिनमा र ६ हजार ५ सय ४४ जना आइसोलेसनमा रहेका छन् ।खोटाङ्ग, धनकुटा, संखुवासभा, मनाङ्ग, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला कोरोनामुक्त भएका छन् ।

यसैबीच, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा. प्रदीप ज्ञवालीले नेपालमा मास्क प्रयोग गर्नेको संख्या ७२ प्रतिशतमात्र रहेको बताउनु भएको छ ।