सुरु भयो कांग्रेसको गाउँ–नगर अधिवेशन, काठमाडौंको १६ गते

काठमाडौं,असोज,९-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज(शनिबार)बाट गाउँ–नगर अधिवेशन सुरु भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार वडाअधिवेशन सम्पन्न भएका जिल्लामा गाउँ–नगर अधिवेशन सुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन सम्पन्न भई अन्तिम मतपरिणाम प्राप्त भएका अधिकांश जिल्लामा पालिका अधिवेशन आरम्भ भएको छ ।

संघीय राजधानी रहेको जिल्ला काठमाडौंमा वडा अधिवेशन सम्पन्न भइसकेको भए पनि अन्तिम परिणाम प्राप्त नभएकाले काठमाडौंको पालिका अधिवेशन असोज १६ गतेको लागि तय गरिएको छ । काठमाडौंमा असोज ५ गते वडा अधिवेशन भएको थियो ।

कांग्रेसले अहिलेसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । क्रियाशील सदस्यता विवादका कारण प्रदेश नम्बर २ का ८ जिल्लासहित सुर्खेत, कैलाली, रुपन्देही, डोल्पा र सुर्खेत गरी १३ जिल्लामा भने वडा अधिवेशन सुरु हुनसकेको छैन ।

नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता टुङ्गो लाग्न बाँकी रहेका जिल्लाको विवाद समाधान गरेर दशैँअघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सक्ने निधो गरेको थियो ।

कांग्रेसको महाधिवेशन अन्तर्गत वडा अधिवेशन गत भदौ १८ गतेदेखि सुरु भएको थियो ।कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।