काठमाण्डौ,भदौ,२५-
भारतको पुनेमा आज सोमबार सुरु हुने बिमस्टेक राष्ट्रहरूको पहिलो संयुक्त सैन्य अभ्यासबाट नेपालसँगै थाइल्याण्ड पनि पछि हटेको छ।
२५ भदौबाट ३१ सम्म चल्ने संयुक्त सैन्य अभ्यास भारतीय सेनाले आयोजना गरेको हो, जसमा बिमस्टेक राष्ट्रहरू म्यानमार, थाइल्याण्ड, भुटान, बंगलादेश, श्रीलंका र नेपालका सेनालाई निम्त्याइएको थियो।
बिमस्टेक राष्ट्रहरूको चौथो शिखर सम्मेलनको क्रममा काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यासमा आमन्त्रण गरेयता नेपालमा यो विषयले विवाद निम्त्याएपछि नेपालले शुक्रबार नै युद्ध अभ्यासबाट आफूलाई अलग गर्ने निर्णय गरेको थियो।

संयुक्त सैन्य अभ्यासमा एक प्लाटुन अर्थात ३० जना नेपाली सेना सहभागी हुने भनिएकोमा अब ३ जना अधिकारी मात्रै पर्यवेक्षकका रुपमा संलग्न हुनेछन्। संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णयसँगै प्रधानसेनापति पनि पुने नजाने भएका छन्।
सोमबार पुनेमा संयुक्त सैन्य अभ्यास सुरु हुनुअघि थाइल्यान्ड पनि यसबाट पछि हटेको हो। केही भारतीय सञ्चार माध्यमले ‘पुनेमा हुने युद्ध अभ्यासमा थाइल्यान्डको सहभागिता नेपाल जस्तै पर्यवेक्षकको रुपमा मात्र रहने’ जनाएका छन्।
बिमस्टेक (बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास) लाई आर्थिक भन्दा पनि सैन्य गठबन्धनतर्फ लैजान खोजेको भन्दै पुनेमा गर्ने भनिएको सैन्य अभ्यासको नेपालभित्र चर्को विरोध भएको थियो।
सत्तापक्ष नेकपाकै नेताहरुले समेत यसको विरोध गरेका थिए। विरोधको पारो बढ्दै गएपछि सरकारले युद्ध अभ्यासमा सहभागी नहुने जनाएको थियो।
नेपाल सैन्य अभ्यासबाट पछि हटेलगत्तै थाइल्यान्डले पनि सैन्य अभ्यासमा आफ्ना सैनिक नपठाउने निर्णय गरेको बुझिएको छ। इन्डिया टुडेले दिल्लीस्थित थाइ दुतावासलाई उधृत गर्दै ‘थाइल्यान्डले युद्ध अभ्यासका लागि बजेट नछुट्याएको कारणले सहभागिता हुन नसकेको’ उल्लेख गरेको छ।
पर्यबेक्षकका रुपमा थाइल्यान्डबाट कति जना सैनिक सहभागी हुँदैछन्, त्यो भने बताइएको छैन। काठमाडौं सम्मेलनअघि सैन्य अभ्यासबारे बिमस्टेकको कुनैपनि फोरममा छलफल र निर्णय भएको थिएन। बिमस्टेक शिखर सम्मेलनमापनि त्यस विषयमा कुनै छलफल निर्णय भएन।
भारतले आयोजना गरेको सैनिक अभ्यासलाई ‘बिमस्टेक राष्ट्रका सेनाहरुको अभ्यास’ को रुपमा भारतले प्रस्तुत गर्न खोजेपछि त्यो विवाद र आलोचनाको विषय बन्न पुग्यो।
भारतीय सेनाको ‘साउदर्न कमान्ड’ ले आयोजना गरेको सैन्य अभ्यास अर्ध–शहरी क्षेत्रमा हुनसक्ने आतंकवाद र उग्रवादको विस्तार नियन्त्रणको विषयमा केन्द्रित हुने बताइएको छ।
आतंकवाद र प्राकृतिक प्रकोपसँग जुझ्न आयोजना गरिएको सैन्य अभ्यासमा प्रत्येक देशबाट करिव एक प्लाटुन अर्थात् ३०–३० सैनिक सहभागी हुने तयारी थियो।
त्यसबाहेक सैन्य अभ्यायकै क्रममा बिमस्टेक राष्ट्रका सेना प्रमुखहरुको सम्मेलनपनि आयोजना गरिएको थियो।
– साभार नेपाल खबरबाट