पार्टीमा बेथिति बढेको छ, म अब चुप लागेर बस्दिनँ : सभापती देउवा

नेपालगन्ज,भदौ,२५-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताउनु भएको छ । 

जननायक बीपी कोइरालाको १०५औं जयन्तीका अवसरमा सोमबार नेपालगन्जमा आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पार्टीभित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

‘बीपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको छ । अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ । स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ । म अब चुप लागेर बस्दिनँ । यस्ता प्रवृत्ति भएका कार्यकर्तामाथि निष्कासनसम्मको कारबाही हुने बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो–‘हामी अरुका कारणले चुनाव हारेका होइनौं । आफ्नै कारणले हारेका हौं । आफ्नाले नै दुश्मन देख्ने प्रवृति हारको कारण बन्यो । उहाँले वर्तमान सरकार मुलुकका सबैखाले संरचना भत्काउने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो ।

लोकतान्त्रिक पद्दतिको बाटो बिराउँदै जानेको आयु छोटो हुन्छ भन्ने कुरा सरकार सन्चालनकर्ताले बुझ्नु पर्ने  उहाँको भनाइ थियो ।नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले आयोजना गरेको कार्यक्रमका सहभागीलाई महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. रामशरण महतलगायतका नेताले प्रशिक्षण दिने बताइएको छ । रासस