ओखलढुंगामा आँखाका रोगी बढे

ओखलढुंगा,असोज,२०-
ओखलढुंगामा आँखाका रोगी बढेको पाइएको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचार गर्न आउने बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक आँखाका रोगी अस्पताल आउने क्रम बढेको केन्द्रका इन्चार्ज टिका राईले बताउनुभयो ।

धुलो, धुँवा र प्रदुषण बढेसँगै त्यसको असर मानिसको आँखामा परेको हो । आँखा पाक्ने, सुख्खा हुने, चिलाउने, चिप्रा लाग्ने समस्या लिएर आउने बिरामी धेरै छन् । ओखलढुंगा सामुदायिक आँखा केन्द्रमा २०७४ पुसदेखि २०७५ असार मसान्त सम्ममा २ हजार ७ सय ४३ जनाले आँखा उपचार सेवा लिएका छन् ।

यो संख्या अघिल्ला वर्षको तुलनामा एक तिहाइ नै बढी हो ।ओखलढुंगामा आँखा रोगको समस्या विकराल भन्दै गएको एक तथ्याङ्कले देखाएको छ । तिलगंगा आँखा प्रतिष्ठानले गरेको एक अध्ययानले ओखलढुंगामा कुनै न कुनै किसिमका ४५ हजार ५ सय १८ जना आँखाका रोगी रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।