गुठीसम्बन्धी विधेयक संसदले नै फिर्ता गर्नुपर्छ : देउवा

काठमाडौं,असार,४-

प्रतिनिधिसभाको आज बसेको बैठकको सुरुमै बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका संसदीय दलका नेता  शेरबहादुर देउवाले संविधानविपरित सरकारले संसदमा ल्याएका अन्य विधेयक पनि फिर्ता लिन माग गर्नु भएको छ ।

संसदीय दलका नेता देउवाले गुठी विधेयकसँगै मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोगसम्बन्धी विधेयक सरकारले संविधान विपरित ल्याएको दावी गर्दै खारेज गर्न माग गर्नु भएको हो । उहाँले ती विधेयक जबरजस्ती संसद्मा पेश गर्न खोजिए पारित गर्न नदिने चेतावनी समेत दिनुभयो ।

गुठीसम्बन्धी विधेयक फिर्ता गर्ने मन्त्रीको घोषणा कानुन सम्मत नभएको भन्दै उहाँले संसदमा प्रवेश भइसकेको विधेयक संसदले नै फिर्ता गर्नुपर्ने प्रक्रिया रहेको स्मरण गराउनुभयो ।कांग्रेसका सभापतिसमेत रहेका देउवाले संसद्मा प्रतिपक्षी उठेपछि उसलाई पहिले बोल्न दिनुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको समेत बताउनुभयो ।

उहाँले संसदीय अभ्यासअनुसार संसारमै संसद विपक्षीको र सरकार सत्तापक्षको हुने प्रष्ट पार्नुभयो । सवाल गर्ने प्रतिपक्षीको हक रहेको स्मरण गराउँदै उनले जवाफमा सरकार पक्षबाट धारणा आउने संसदीय अभ्यास रहेको उहाँको भनाइ थियो ।उहाँले प्रधानमन्त्रीको युरोप भ्रमण पनि उपलब्धिविहीन भएको टिप्पणी गर्नुभयो ।