बुद्ध जयन्तीको अवसरमा जापानको गुन्मामा संयुक्त शान्ति पदयात्रा गरिने

पदयात्रामा “बुद्ध नेपालमा जन्मनु भएको हो” भन्ने सन्देश दिईने

फाईल तस्विर ।।

गुन्मा,जापान,बैशाख,२४-बुद्ध जयन्तीको अवसरमा जापानको गुन्मा केनमा ऐतिहासिक संयुक्त शान्ति पदयात्रा गरिने भएको छ।

नेपालबाट जापान आइ बसोबास गरिरहेका नेपाली समुदायका विभिन्न संघ-संस्थाहरूको संयुक्त आयोजनामा २८६९ औं बुद्ध जयन्तीको विशेष अवसरमा ऐतिहासिक शान्ति पदयात्रा (र्याली) आयोजना गरिने भएको हो।

बुद्धको शान्ति, करुणा र अहिंसाको सन्देशलाई जापानी समाजमा फैलाउने र विशेषगरी “बुद्ध नेपालमा जन्मनु भएको हो” भन्ने सन्देशलाई सशक्त रूपमा उजागर गर्ने उद्देश्य सहित यो कार्यक्रमको आयोजना गर्न लागेको आयोजक संस्थाहरुका सदस्य अर्थात नेपाल मगर संघ क्षेत्रीय समिती गुन्मा जापानका अध्यक्ष रिदम रोका मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।

आयोजकका अनुसार उक्त शान्ति पदयात्रा कार्यक्रम गुन्मा केन स्थित ओता स्टेशनबाट सुरु भई निशि कोईजुमी स्टेशन हुँदै ईजुमी पार्क सम्म पुग्ने छ।पदयात्रा मे ११ तारिख आईतवारका दिन दिउँसो १ बजेबाट सुरु हुनेछ।यो पदयात्राको दूरी ६ किलोमिटर रहेको छ।

यस्तै:यो ऐतिहासिक कार्यक्रम मार्फत बुद्धको शिक्षालाई जापानी जनतासम्म पुर्याउँदै नेपालको सांस्कृतिक गौरव र पहिचानलाई पनि उजागर गर्ने लक्ष्य लिइएको छ।

फाईल तस्विर ।।

यो कार्यक्रमको आयोजक गर्ने संघ-संस्थाहरूमा NRNA गुन्मा क्षेत्रीय समिति, स्याङ्जा समाज किताकान्तो, नेपाल मगर संघ जापान क्षेत्रिय समिति गुन्मा, तमू धी किताकान्तो, किरात राई यायोक्खा कान्तो जापान, तामाङ समाज जापान किता कान्तो, सिन्धुली समाज जापान, शेर्पा संघ किताकान्तो जापान, नेपाली साझा समाज जापान, र शेर्पा संघ जापान लगायतका संघ-संस्थाहरूको सक्रिय सहभागिता रहनेछ।

संयुक्त रूपमा आयोजना हुन लागेको यस किसिमको लामो शान्ति पदयात्रा जापानमा पहिलो पटक हुन लागेको बताइएको छ। आयोजकहरूले सम्पूर्ण नेपाली समुदाय, बुद्ध धर्मावलम्बीहरू तथा जापानी नागरिकहरूलाई उपस्थित गराई कार्यक्रम सफल पार्नको लागि आयोजक टिमले सबैमा हार्दिक आह्वान गरेका छन्।

कार्यक्रम विवरण अनुसार:
• पदयात्रा मार्ग: ओता स्टेशन (Ota Station) बाट सुरू भई निशि कोइजुमी स्टेशन (Nishi-Koizumi Station) हुँदै इजुमी पार्क (Izumi Park) सम्म पुग्नेछ।
• दूरी: करिब ६ किलोमिटर
• मिति: २०२५ मे ११ (आइतबार)
• समय: दिउँसो १:०० बजेबाट सुरू