चप्पल लगाएर गाडी नचलाउन ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाको आग्रह

ओखलढुंगा,असोज २०-
जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले सवारी चालकलाई अनिवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन आग्रह गरेको छ । दुर्घटनालाई कम गर्न सवारी चालकलाई जुत्ता अनिवार्य गरिएको प्रहरीले जनाएको छ ।

सार्वजनिक सवारीका चालकहरुले चप्पल लगाएर सवारी चलाएको भेटिए लाइसेन्स खारेज सम्मको जरिवाना गरिने ट्राफिक प्रहरीको भनाइ रहेको छ । दसैँ, तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम सुरु गरिएको हो ।

चालकले जुत्ता लगाउनै पर्ने पुरानो नियमलाई पुनःकार्यान्वयनमा ल्याइएको हो ।सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्दे्शिका–२०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम रहेको छ । ट्राफिक प्रहरीले सदरमुकाम बजारसहित अन्य बजारहरुमा समेत ट्राफिक जाँचलाई कडाई गरेको छ ।