सन्दीपको ५ विकेटमा नेपाललाई पिएनजीले दियो ९६ रनको लक्ष्य

काठमाडौं,फाल्गुन,२९-आईसीसी विश्वकप लिग टू को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)ले नेपाललाई जितको लागि ९६ रनको लक्ष्य दिएको छ । 

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले नेपालको बलिङ सामु खुलेर ब्याटिङ गर्ने सकेन।पीएनजीले ३२ ओभरमा अलआउट हुदै मात्रै ९५ रन बनाउन सक्यो ।  

 
 

पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चाल्स अमिनिले १६ रन बनाए । हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन नबाउन सकेनन् । 

 

नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछानेले सानदार बलिङ गरे ।  उनले १० ओभर बलिङ गरेर २५ रन दिदै ५ विकेट लिए । 

यस्तै ललित नारायण राजवंशी र कुशल मल्लले समान २/२ तथा सोमपाल कामीले १ विकेट लिए।नेपालले यस सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई नै ५२ रनले पराजित गरेको थियो । 

विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ। 

पीएनजीलाई यही सिरिज अन्तर्गतको पहिलो खेलमा पराजित गरेको नेपाल आजको खेलमा समेत सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

घरेलु मैदानमा ८ एकदिवसीय अन्तराष्ट्रियमा अपराजित नेपाल आफनो नवौं खेललाई समेत स्मरणिय बनाउन चाहन्छ।नेपालले विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपालले सात देश सम्मिलित विश्वकप लिग टूमा ३४ खेलमा १७ मा जित तथा १५ मा हार व्यहोरेको छ । नेपाल ३६ अंक जोडेर चौथो स्थानमा रहेको छ । 

पीएनजीले ३४ खेलमा ५ मा जित २८ मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ । खेलपाटीबाट