जापानमा उड्ने बाइक बनेको दुई साता नबित्दै, नेपालमा बन्यौ ब्याक गेयरसहितको बाईक

सहयोग पाएमा व्यवसायिक रुपमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गर्ने पोख्रेलको भनाई

फाईल तस्विर ।।

काठमाण्डौं,कार्तिक,२६-नेपालमा १९ वर्षीय युवाले ब्याक गेयरसहितको बाईक बनाएका छन् ।सन्धिखर्क नगरपालिका–१, म्यालपोखरी अर्घाखाँचीका सागर पोख्रेलले बाईक बनाउन सफल भएका छन्।

सानो छँदा कागजका खेलौना बनाउने पोख्रेलले कबाडी बटुलेर गुड्ने ब्याक गेयरसहितको इलेक्ट्रोनिक बाईक निर्माण गरेका हुन्।बुटवलमा कक्षा १२ मा अध्ययनरत पोख्रेल बिदामा घर आएका बेला कुनै तालिम बिना इलेक्ट्रोनिक बाईक बनाएका हुन्।

कबाडीमा खेर जाने वस्तुसँगै बाईकलाई चाहिने अत्यावश्यक वस्तु बजारबाट खरिद गरी उनले यो बाइक बनाएको बताए। ‘अलीअली सामान खरिद पनी गर्नुपर्‍यो, पोख्रेलले भने,‘अधिकांश सामग्री आफै जोहो गरेको हुँ।’ कसैबाट सहयोग पाएमा व्यवसायिक रुपमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गर्न सक्ने उनको भनाई छ।

बाईक कसरी गुड्छ होला? यसमा केके सामान प्रयोग गरिन्छ होला भन्ने कौतुहलता हुने पोख्रेलले बाईक सम्बन्धी युटुबबाट ज्ञान लिए। त्यसपछि आफै बनाउने प्रयत्न गरे। उनले आफै निर्माण गरेको इलेक्ट्रोनिक बाईकको सन्धिखर्क टुँडिखेलमा सफल ‘डेमो’ प्रदर्शन गरिएको छ। एक औपचारिक कार्यक्रमको आयोजना गरी उनले बाईक टुँडीखेलमा दौडाएका छन्।

सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, उपमेयर ठाकुर बिक लगायतको उपस्थितीमा उनले बाईकको ‘डेमो’ प्रदर्शन गरेका हुन्।बुटवलको नविन औद्योगिक कदर बहादुर स्कुलमा अध्ययनरत पोख्रेलले यसअघि पनि उनले घरायसी वस्तुको प्रयोग गरी जेसिभी र भ्याकुम निमार्णको पनि प्रयास गरेका थिए।

यसैबिच: दुई साता अघि मात्र जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको थियो । समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक गत साता मंगलबार बिक्रीका लागि राखिएको थियो।

त्यसको दुई साता नबित्दै नेपालमा ब्याक गेयर भएको बाईकको निर्माण भएको हो ।जापानमा बनेको उक्त उड्ने बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ। 

टोकियोको  ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ भने ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडेको छ। यो बाइक एक पटकमा ४० मिनेट उड्न सक्छ। यसको गति प्रतिघन्टा सय किलोमिटर  रहेको समाचारमा उल्लेख गरिएको छ।