पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक फेरी अवरुद्ध

चितवन, भदौ १८-

अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा शनिबार साँझदेखि पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ ।

ती ठाउँमा राति १२:३० बजे पहिरो खसेको हो । पहिरो पन्छाउनका लागि गजुरीबाट एक्साभेटर आएर बाटो पन्छाउने काम शुरु गरेको थापाले जानकारी दिनुभयो ।मुग्लिनबाट फिस्लिङ १२ किमी काठमाडौँतर्फ पर्छ भने घोप्टेभिर करिब दुई किमी पर्छ ।

यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला, मुग्लिनको मुखलगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको छ ।पानी परिरहेकाले पूरै सडक छिचोल्न नसकेकाले के कति ठाउँमा पहिरो खसेको छ सो जानकारी आइनसकेको थापाले बताउनुभयो ।

सो सडकमा पहिरो खसेका ठाउँमा लेदो बगिरहेको र पानी परिरहेकाले पहिरो पन्छाउन अप्ठ्यारो परिरहेको थापाले बताउनुभयो ।स्तरोन्नतिका क्रममा रहेकाले पहिरो खस्ने क्रम बढी हुँदा रातको समयमा सो सडक बन्द गरिँदै आएको छ ।रातभर रोकिएर बसेका सवारी साधन बिहान पनि पहिरो खसेर सडक अवरुद्ध भएपछि अलपत्र परेका छन् । रासस