प्रधानमन्त्री ओली र दाहाल बिच भेटवार्ताःसंवैधानिक परिषद बैठक स्थगित

फाईल तस्विर !!

काठमाडौं,पुष,२-प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले बिहीबार साँझका लागि बोलाउनुभएको संवैधानिक परिषद बैठक स्थगित गरिएको छ ।

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएपछि परिषद बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्री ओलीले अघिल्लो दिनको सहमति विपरित साँझ बैठक राखेपछि उहाँलाई भेट्न दाहाल प्रधानमन्त्री निवास बालुवाटार जानुभएको थियो । दुई नेताबीचको छलफलपछि बैठक स्थगित गरिएको हो ।

यसअघि परिषद बैठक बोलाउँदा पनि प्रधानमन्त्री एवं परिषद अध्यक्ष ओलीले परिषद सदस्य सभामुख अग्नि सापकोटालाई सूचना नै दिनुभएको थिएन ।

परिषद बैठकबारे अपराह्न चार बजेसम्म पनि कुने जानकारी नआएको सभामुख सापकोटाको प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ ।

उता, बैठकका लागि निम्तो पाउनुभएका प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अध्यादेशमार्फत् संशोधित व्यवस्था अन्तर्गत बस्ने परिषद बैठकमा नजाने प्रष्ट गरिसक्नु भएको छ ।

कांग्रेसले अध्यादेश फिर्ता लिन र संसदकै बैठक बोलाउन माग गरिसकेको छ ।

पार्टीभित्रै तीब्र आलोचना भएपछि प्रधानमन्त्री ओलीले बुधबार मात्र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग संवैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता लिने सहमति गर्नुभएको थियो ।

बुधबार नेकपाका ८३ जना सांसदले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गर्न पुगेपछि ओली र दाहालबीच अध्यादेश फिर्ता लिने सहमति बनेको थियो ।

तर अध्यादेश फिर्ता लिनुभन्दा पनि उहाँले बिहीबार साँझ ५:३० बजेका लागि परिषद् बैठक राख्नुभएपछि नेकपाभित्र खैलाबैला मच्चिएको थियो ।