आज विजयादशमी,मान्यजनका हातबाट टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै

काठमाडौ,कार्तिक,७-आज वडा दशैंको मुख्य दिन विजयादशमी , घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मनाइँदैछ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । घटस्थापनाका दिन विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आज मंगलबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।

आज देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा र टीका जमरा ग्रहण गर्ने उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्यायक समितिले जनाएको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि जनाइएको छ ।‘राज्य सन्चालकले भने साइतमै टीका लगाउनुपर्छ ।

राज्य सन्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो । साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’ भन्ने मान्यता रहेको छ । आज टीका लगाइने मानिस पूर्व फर्कनुपर्ने र टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादकारुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेंलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिकारुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमासमेत पुष्टि भइसकेको छ । घटस्थापनाका दिन स्थापित पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा–आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको प्रसाद स्वरुप टीका, जमरा थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।